सर्लाही, १८ कार्त्तिक । नेकपा एकीकृत समाजवादी लगायतका आठ दलसँग एकताको निर्णयमा पुगेको नेकपा माओवादी केन्द्र विभाजित भएको छ ।

पार्टीका पूर्वउपमहासचिव, जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखेलगायतले पार्टी परित्याग गर्दै नयाँ अभियान सुरु गरेका छन् ।

मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै शर्माले प्रगतिशील अभियान, नेपाल नामको राजनीतिक अभियान घोषणा गरे ।

पार्टीको मूल नेतृत्वसँग लामो समयदेखि संघर्ष गर्दै आएका शर्माले माओवादीको नेतृत्वमा भएको दश वर्षे संघर्षदेखि पछिल्लो जेनजी आन्दोलनले उठाएका माग र भावनाविपरीत पार्टी र नेतृत्व अघि बढेकाले एकता प्रक्रियाबाट बाहिरिएको बताए ।

उनले विगतको नेतृत्वका खराब आचरण र क्रियाकलापमा आफूहरूले पनि सघाएको आत्मालोचना गर्दै अब सच्चिएर अघि बढ्न अभियान थालेको दावी गरे ।

‘विगतका हाम्रा कमजोरीलाई स्वीकार गर्दै नयाँ अभियानका साथ हामी अघि बढ्छौँ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास सुरु भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *