सर्लाही, २० कार्त्तिक । विद्युतको अव्यवस्थित व्यवस्थापन र प्रयोगमा देखिएको असावधानीका कारण मधेश प्रदेशमा किसानहरू करेन्ट लागी ज्यान गुमाउने क्रम तीव्र रुपमा बढ्दो छ ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधामका तथ्यांकअनुसार पछिल्लो आर्थिक वर्ष २०८१/०८२ मा मात्रै १३८ जना किसानको करेन्ट लागेर मृत्यु भएको छ । त्यस्तै, गत तीन वर्षको अवधिमा कुल ३२४ जनाले करेन्ट लागी ज्यान गुमाएका छन् ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/०८० मा ११०, २०८०/०८१ मा ८४ र २०८१/०८२ मा १३८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये महिला र बालबालिकासमेत रहेका छन्, तर पुरुष किसानको संख्या सर्वाधिक रहेको प्रहरीले जनाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाका अनुसार असावधानी र विद्युत प्रयोगमा देखिएको जोखिमले यस्ता घटना बढेका हुन् ।
उनले भने, “खेतमा मोटर जडान गर्ने, झिक्ने र हुकिङ्ग गर्ने क्रममा आवश्यक सावधानी नअपनाउँदा किसानले ज्यान गुमाउने घटना अत्यधिक बढेका छन्।”
प्रायः किसानहरूले कृषि प्रयोजनका लागि मिटर लिए पनि ती स्थायी रूपमा जडान नगरी अस्थायी रूपमा मात्र प्रयोग गर्ने गरेको पाइन्छ। खेतमा पानी आवश्यक परेपछि धेरै किसानले अस्थायी रूपमा मिटर ठड्याएर मुख्य लाइनमा अङ्कुशे (हुकिङ्ग) लगाउने गर्छन्।
त्यस क्रममा दुई फेजबीचको तार झरेर शरीरमा छोइने वा ओसिला हातले तार समात्दा करेन्ट लाग्ने घटना दोहोरिने गरेको प्रहरीले जनाएको छ ।
विद्युतको असुरक्षित प्रयोगका कारण हुने यी घटनाबाट किसानको ज्यान बचाउन स्थानीय तहका जनप्रतिनिधि, विद्युत प्राधिकरण र सम्बन्धित निकायहरूले तत्काल पहल लिनु आवश्यक रहेको सरोकारवालाहरूको सुझाव छ ।
विद्युत प्रयोगमा सचेतना फैलाउने र सुरक्षित प्रणाली विकास नगरेसम्म यस्ता घटना झनै बढ्ने चिन्ता व्यक्त गरिएको छ ।
