सर्लाही, २० कार्त्तिक । प्रहरीले जेन–जी आन्दोलनका क्रममा लुटिएकामध्ये हालसम्म साढे सात सय थान हतियार बरामद गरेको छ । आन्दोलनका वेला प्रदर्शनकारीले मुलुकभरबाट प्रहरीको झन्डै एक हजार पाँच सय थान हतियार लुटेका थिए । 

प्रहरीका अनुसार लुटिएकामध्ये दुई सय थान हतियार जलेको अवस्थामा फेला परेका छन् । बाँकी ५५० थान हतियार अझै फेला पर्न सकेका छैनन् ।

लुटिएका हतियार प्रतिनिधिसभाको निर्वाचनअगावै बरामद गर्न गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विशेष अपरेसन सञ्चालन गर्न निर्देशन दिएको छ ।

त्यसलगत्तै गृहमातहतको दुवै सुरक्षा निकायले हतियार खोजी कार्यलाई तीव्रता दिएका छन् । तर, लुटिएका हतियार अझै फेला पर्न सकेका छैनन् । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेले लुटिएकामध्ये साढे सात सय हतियार बरामद भएको र बाँकीको खोजी कार्य तीव्र पारिएको बताए । ‘

आन्दोलनका क्रममा प्रहरीका १५ सय हतियार लुटिए । हालसम्म साढे सात सय थान हतियार बरामद भइसकेका छन् । केही जलेको अवस्थामा फेला परेका छन् । बाँकी हतियारको खोजी कार्य जारी छ । बरामद हुनेक्रम पनि जारी नै छ,’ उनले भने ।

प्रहरीका अनुसार काठमाडौं उपत्यकाबाट मात्रै प्रहरीको झन्डै आठ सय थान हतियार लुटिएका थिए । त्यसमध्ये पाँच सय थान हतियार भने बरामद भइसकेको प्रहरीको भनाइ छ ।

बाँकी हतियारको खोजी कार्य जारी छ । लुटिएकामध्ये केही हतियार बिक्रीसमेत भएका छन् । सोही क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार तारकेश्वर नगरपालिका– ११ बाट लुटिएका तीन थान हतियार बरामद गरेको छ ।

घटनामा संलग्न कैलाली टीकापुरका शिवराज धमलालाई पनि पक्राउ गरेको छ । घटनामा संलग्न भारत सीतामढीका २४ वर्षीय अकबर खान, काठमाडौं महानगरपालिका– १५ का २५ वर्षीय राजन देउला, धादिङ धुनीबेँसी नगरपालिकाका २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौं बिजेश्वरीका २६ वर्षीय सुमिन शाक्य पक्राउ परेपछि यो तथ्य खुलेको थियो । 

प्रहरीका अनुसार उनीहरूले लुटिएका हतियार नयाँ बानेश्वरका ३८ वर्षीय प्रभात मल्ललाई पाँच लाख रुपैयाँमा बेचेका थिए । खरिदमा संलग्न मल्ललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले आन्दोलनका क्रममा प्रहरीको पेस्तोल, सोको म्यागाजिन र १५ राउन्ड गोली लुटेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *