सर्लाही, २१ कार्त्तिक । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको छ ।
रंगशालामा जडान हुने ६ वटा फ्लडलाइटका टावर उठाइसकेको र त्यसमा बत्ती जडान कार्य सुरु भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
क्यानले फ्लडलाइट तयार भए आसन्न दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) पनि डे–नाइटमै खेलाउने योजना बनाएको छ ।
प्रत्येक टावरमा १६ सय वाटका ७० वटा बत्ती जडान हुनेछ । प्राविधिक पक्षले बिहीबारसम्म दुईवटा टावरमा पूरै लाइट जडान गरिसकेको छ । क्यानका अनुसार ६ वटा टावर ६ लाख ७२ हजार वाट क्षमताको हुनेछ ।
प्राविधिक पक्षले प्रत्येक दिन कम्तीमा दुईवटा टावरमा १६ सय वाटको ७० वटा बत्ती जडान गर्ने लक्ष्य राखेको छ । फ्लडलाइट जडानका आयोजना प्रमुख चक्रवर्ती कण्ठलले छिट्टै जडानको काम सकिने बताएका छन् ।
त्रिवि मैदानमा जडान हुने लाइट बाहिरबाट आउने भएकाले निर्धारित समयभन्दा केही दिन ढिला भएको उनको भनाइ छ । ‘फ्लडलाइटका जडान हुने सबै बत्ती बाहिरबाट ल्याउनुपर्छ । जसका कारण केही समय ढिला भएको हो,’ चक्रवर्तीले भने, ‘ती बत्ती समयमै आएको भए ६ वटै टावरमा फुलफेजमै बत्ती जडान गरिसक्थ्यौँ ।’
क्यानले आगामी १ देखि २७ मंसिरसम्म दोस्रो एनपिएल गर्दै छ । एनपिएल आउन १० दिन मात्र बाँकी छ । क्यानका प्रवक्ता छुम्बी लामाले फ्लडलाइटमै एनपिएल आयोजना गर्ने लक्ष्यका साथ आफूहरू अगाडि बढिरहेको बताएका छन् ।
‘हाम्रो प्रयास भनेको फ्लडलाइटमै एनपिएल गराउने हो । यद्यपि, यो प्राविधिक पक्ष हो,’ लामाले नयाँ पत्रिकासँग भने, ‘प्राविधिक समस्या आएन भने क्यानले एनपिएल फ्लडलाइटमै गराउनेछ ।’
आयोनजा प्रमुख चक्रवर्तीले सबै टावरमा बत्ती फिट भएपछि यसको परीक्षण हुने बताए । उनले आफूहरू एनपिलअगाडि नै सबै परीक्षण गरिसक्ने र फ्लडलाइटमै प्रतियोगिता गराउने योजनाका साथ काम भइरहेको जनाए ।
‘अहिले हाम्रो लक्ष्य एनपिएलअगाडि नै फ्लडलाइटको सबै परीक्षण सकाउने र तयार गर्ने हो,’ उनले भने, ‘तर, लाइटमा खेल गराउने वा नगराउने अन्तिम निर्णय क्यानको हो ।’
क्यानका प्रवक्ता लामाले फ्लडलाइट तयार भएको अवस्थामा एनपिएल राति पनि गराउन सक्ने बताए । ‘क्यान फ्लडलाइटमै एनपिएल गराउने योजनामा छ,’ उनले भने, ‘निर्माण कम्पनीले पनि तीव्र रूपमा काम गरिरहेको छ ।’
६० मिटर अग्लो टावर
रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०–३० टनका हाइमास्ट लाइट जडान गरिएको छ । पोल नम्बर १, ४, ५ र ६ मा फ्लडलाइट आंशिक रूपमा जडान भइसकेको छ ।
यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले गत २३ असोजमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको अनुगमन गरेका थिए ।
एनपिएलअगाडि नै प्यारापिट र फ्लडलाइट जडान सक्ने प्रतिबद्धता आयोजना प्रमुख चक्रवर्तीले मन्त्री घिसिङलाई दिएका थिए ।
मन्त्रिपरिषद्को ३० असोजको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा रंगशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको थियो ।
