सर्लाही, २३ कार्त्तिक । मधेश प्रदेश सभाको शनिबाराको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलमाथिको विश्वासको मतसम्बन्धी प्रस्ताव पेश हुँदा माओवादीका दुई प्रदेश सांसदले दलको ह्वीप तोडे ।
प्रदेश सांसद रहबर अंसारी र माला कर्णले कुनै सरकारलाई विश्वासको मत नदिने उद्घोष गरे । जबकी माओवादी केन्द्रले मुख्यमन्त्री सोनलको पक्षमा मतदान गर्ने तयारी थियो।
दुई सांसदको अडानले मधेश सरकार नै ढल्न पुग्यो । विश्वासको मत नपाउने देखेपछि मुख्यमन्त्रीले सदनबाटै राजीनामाको घोषणा गरे।
यसले राजनीतिक वृत्तमा माओवादी केन्द्रको नेतृत्व र विद्रोह गरेका सांसदको आलोचना पनि भइरहेको छ । कतिपयले व्याप्त कुशासन र भ्रष्टाचारको विरोध तथा संघीयतामा प्रदेशले प्रयोग गर्ने अधिकारमाथि केन्द्रले गर्दै आएको हस्तक्षेपविरुद्ध विद्रोह गरेका भन्दै दुवै सांसदको प्रसंशा पनि गरिरहेका छन् ।
खासमा, माओवादी भित्र विद्रोहको प्रमुख कारण हो प्रदेश संसदीय दलमा केन्द्रको नांगो हस्तक्षेप। पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष हस्तक्षेपको कारण मधेश प्रदेशमा वर्तमान संकट आएको उनकै पार्टीका कतिपय सांसदहरूको निष्कर्ष छ ।
विश्वासको मतसम्बन्धी छलफलमा दलका प्रतिनिधिहरूले धारणा व्यक्त गरिसकेपछि माओवादी सांसद अंसारीले समय मागेर यो सरकार काठमाडौंले बनाइदिएको भन्दै आक्रोश पोखेका थिए ।
‘यो हामीले बनाइरहेको सरकार होइन। यो काठमाडौंले बनाइरहेको सरकार हो। हाम्रा शीर्ष नेताहरूले बनाएको सरकार हो। जेनजी आन्दोलनले अवस्था बदलियो, तर हाम्रा नेताहरूको चरित्र बदलिएन,’ उनले आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड सहितका नेताहरूप्रति संकेत गर्दै आक्रोश पोखे।
आठ वर्षमा प्रदेश सरकारको गतिविधि कुशासन र भ्रष्टाचार देखिएकाले सबैको नैतिक धरातल सकिएकाले कुनै पनि सरकारलाई विश्वासको मत दिने उनको उद्घोष छ। ‘म कुनै पनि सरकारलाई विश्वासको मत दिन्न। मलाई कुनै सरकारप्रति विश्वास छैन। यहाँ रहेका १०७ जनाको बीचमा कसैसँग पनि नैतिक धरातल छैन’ उनले भने ।
सभामुखले माइक काटेपछि उनले खल्तीबाट मोसो निकाले र दुवै हातले गालामा घस्दै भने ‘मधेशका जनताले हाम्रो अनुहार कालो देखिरहेका छन् । हामीले बुझ्नु पर्यो । मैले आफ्नो अनुहार यसरी तपाईंहरूको लागि, सम्पूर्ण प्रदेश सांसदको लागि कालो देखाउन चाहन्छु, जनतालाई। जनताले गर्न सक्दैन भने हामी आफैंं गरौंं ।’
