सर्लाही, २३ कार्त्तिक । बिहार विधानसभाको पहिलो चरणको मतदान सकिएको छ र अब निर्वाचन अन्तिम चरणमा पुगेको छ । सबैको ध्यान यसपटक जनताले कसमा भरोसा गर्लान् भन्नेमा केन्द्रित छ ।
पहिलो चरणमा १२१ सिटका लागि भएको मतदानमा ६४.६६ प्रतिशत मत खसेको छ । यसलाई रेकर्ड मतदान मानिएको छ ।
यो रेकर्ड मतदान केको संकेत हो ? यो परिवर्तनको संकेत हो वा वर्तमान सत्तामाथिको विश्वास दोहोर्याउने जनादेश ? यसबारे फरक–फरक विश्लेषणहरू आइरहेका छन् ।
चुनावमा रोजगारी र बसाइँसराइको मुद्दा सबैभन्दा बढी उठ्यो । साथै, ’जङ्गलराज’को याद दिलाएर मतदाताहरूमा डर वा असुरक्षाको भाष्य बनाउने कोसिस पनि देखियो ।
अब प्रश्न उठेको छ– यो उच्च मतदानको अर्थ के निकाल्ने ? मतदाताले कुन मुद्दा प्राथमिकतामा राखेका छन्– कानून व्यवस्था, विकास, रोजगारी वा केही अरू ?
के महिलाहरू यसपटक चुनावी परिणामको दिशा मोड्ने ‘साइलेन्ट फोर्स’ अर्थात् मौन शक्ति बन्दैछन् ? र, के साँच्चै भर्चुअल संसार (सामाजिक सञ्जाल) मा जस्तै नीतीशकुमार भूगोलमा लोकप्रियता खस्किएको हो ?
रेकर्ड मतदानको अर्थ के हो ?
पहिलो चरणपछि ‘रेकर्ड टर्नआउट’ (उच्च मतदान) बारे व्यापक रूपमा चर्चा भइरहेको छ । तर के बढी मतदान सधैं सत्ता परिवर्तनको संकेत हुन्छ ?
सन् १९५१–५२ देखि २०२० सम्मका बिहारका निर्वाचनमा केवल तीन पटक मात्र मतदान ६० प्रतिशत नाघेको छ ।
सन् २०२५ को पहिलो चरणमा १८ जिल्लाका १२१ सिटमा ६४.६६ प्रतिशत मतदाताले मतदान गरेका छन् ।
सी–भोटरका संस्थापक यशवन्त देशमुखका अनुसार विगत १०–१५ वर्षको इतिहासमा कुनै निश्चित प्रवृत्ति देखिएको छैन । उनले भने, ‘रेकर्ड मतदान भएका चुनावमा पनि सत्ताविरोधी र सत्ता–समर्थक दुवै परिणाम आएका छन् र कम मतदानमा पनि त्यस्तै । त्यसैले यसलाई एउटै कोणबाट हेर्न मिल्दैन ।’
देशमुखका अनुसार यसपटक पुरुषभन्दा करिब ८ प्रतिशत बढी महिलाले मतदान गरेका छन् र उनीहरूको झुकाव स्पष्ट रूपमा नीतीशकुमारतर्फ देखिन्छ । उनका अनुसार साइकल योजनादेखि १० हजार योजनासम्मका नीतिहरूले महिलामा स्थायी भरोसा निर्माण गरेका छन् ।
युवाहरूको सन्दर्भमा उनले भने, ‘सरकारी रोजगारीको वाचामा एक समूह तेजस्वी यादव र महागठबन्धनतर्फ आकर्षित छ भने अर्को समूह नयाँ विकल्पको खोजमा प्रशान्त किशोरतर्फ झुकिरहेको छ ।’
पत्रकार तथा लेखिका रुही तिवारी पनि भन्छिन्, ‘रेकर्ड मतदानको अर्थ सिधै सत्ता परिवर्तन वा निरन्तरताको सूचक होइन । महिलाहरूको बढी सहभागिता यसको अर्थ यो होइन कि उनीहरू कसैलाई जिताउन वा हराउन चाहन्छन् । उनीहरू अब आफ्नो मत अधिकार र आवाजका लागि सचेत भएका छन् ।’
