सर्लाही, २३ कार्त्तिक । दल–समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अन्य वाम घटक र समूहलाई समायोजन गर्ने गृहकार्यमा लागेको छ । बुधबार १० वाम दल–समूह मिलेर बनेको पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले विभिन्न पार्टी, समूह र व्यक्तिसँग छलफल गरिरहेका छन् ।

अशोक राई नेतृत्वको जसपा, भीम रावल र यदुवंश झासँग कुराकानी भइरहेको नेताहरूले बताएका छन् । नेताहरूका अनुसार राई, रावल र झाले सकारात्मक जवाफ दिएका छन् । जसपाले एकता प्रस्तावबारे छलफल गरेर वार्ताका लागि कार्यदल नै बनाएको छ । संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा कार्यदल बनाइएको छ । कार्यदलमा सहअध्यक्ष रेणु यादव, उपाध्यक्षद्वय रनध्वज कन्दङ्वा र परशुराम बस्नेत तथा महासचिव मोहमद इस्तियाक राई सदस्य छन् । दुईजना सदस्य थप्न बाँकी रहेको श्रेष्ठले बताए ।

श्रेष्ठले नीति, कार्यक्रम र सिद्धान्तका आधारमा एकता र ध्रुवीकरण हुने बताए । ‘जेन–जी आन्दोलनपछि नेपाली समाज नै ध्रुवीकरण, पुनर्संरचना, पुनर्गठनको स्थितिमा छ । प्रत्येक दलमा एकीकरण र ध्रुवीकरणको क्रम सुरु भएको छ । यस्तो परिप्रेक्ष्यमा कुनै पनि पार्टीले म एक्लै जान्छु भन्दा पनि नीति, कार्यक्रम, सिद्धान्त मिल्नेसँग एकता गरेर जानुपर्छ,’ उनले भने । एकता सम्भव नभए मोर्चा र तालमेल पनि गर्न सकिने उनले बताए । विगतमा समाजवादी मोर्चामा सँगै काम गरेको हुनाले नेपाली कम्युनिस्ट पार्टीसँग विचार, सिद्धान्तमा धेरै भिन्नता नरहेको उनले बताए ।

एमालेका पूर्वउपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री भीम रावलसँग पनि नेताहरूले कुराकानी गरिरहेका छन् । ‘दस्ताबेज अध्ययन गर्दै छु । देश–विदेशमा रहेका साथीहरूसँग परामर्श पनि गरिरहेको छु,’ रावलले नयाँ पत्रिकासँग भने । एकताअघि नै १८ कात्तिकमा प्रचण्ड र नेपालले रावललाई एकताबद्ध हुन आग्रह गरेका थिए । रावलले दस्ताबेज अध्ययन गरेर जवाफ दिने बताएका थिए । रावलले नेपाली कम्युनिस्ट पार्टीका साथै अन्य दलहरूसँग पनि छलफलमा रहेको बताए ।

एमालेका केन्द्रीय सल्लाहकार यदुवंश झा पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । सहसंयोजक नेपालसँग नेता झाले एमाले परित्याग गरेर नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने बताएका छन् । नेताहरूका अनुसार नेपालले पार्टीमा आबद्ध भएर काम गर्न झालाई भनेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले विचार मिल्ने दल–समूहलाई पार्टीमा आबद्ध गराउँदै जाने बताए । ‘हामी बृहत् ध्रुवीकरणको पक्षमा छौँ । विचार मिल्ने दल–समूहलाई पार्टीमा ल्याउने प्रयास भइरहेको छ । विभिन्न चरणमा विभिन्न दल र समूहसँग छलफल भइरहेको छ,’ पाण्डेले भने ।

यसअघि, एमालेका पूर्वकेन्द्रीय सदस्य तथा मुगु खत्याड गाउँपालिकाका पूर्वअध्यक्ष उब्जनबहादुर शाही बिहीबार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *