सर्लाही, २३ कार्त्तिक । मधेस प्रदेशमा मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलको नेतृत्वमा बनेको सरकार ढलेपछि सत्ता पक्ष र विपक्षबिच आरोप–प्रत्यारोप सुरु भएको छ ।
सत्ता पक्षले विपक्षी दल र सभामुखमाथि दोषारोप गरे पनि विपक्षी नेताहरूले ती आरोपहरू अस्वीकार गर्दै सरकार आफ्नै कमजोरी र आन्तरिक विवादका कारण ढलेको बताएका छन् ।
नेकपा एमाले का संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार सोनल सरकारको पतन कुनै बाह्य कारणले भएको होइन । उनले भने, “सरकार आफैँले गल्ती गर्यो, विपक्षीको हात छैन ।
संसदमा हारजित सामान्य कुरा हो, त्यसलाई सङ्घीयताको सङ्कट ठान्नु गलत हो।” यादवका अनुसार सत्ता पक्षभित्र एकता कायम गर्न नसक्नु र दलहरूबिचको कमजोर तालमेलले सरकार असफल बनायो ।
नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि सोनल सरकार भित्रकै अविश्वास र अन्तर्द्वन्द्वलाई कारण देखाउँदै भने, “हामीले लोकतान्त्रिक अभ्यासअनुसार आफ्नो भूमिका निभाएका हौँ । सत्ता गठबन्धनभित्र सहकार्य नहुँदा यस्तो अवस्था आएको हो ।”
विपक्षी नेताहरूले मधेस प्रदेशको यो घटना सामान्य राजनीतिक प्रक्रिया भएको भन्दै यसलाई अस्वाभाविक रूपमा चित्रण नगर्न आग्रह गरेका छन् ।
