सर्लाही, २४ कार्त्तिक । सर्लाहीको मलंगवा नगरपालिकामा आइतबारदेखि तालाबन्दी गरिएको छ । उपप्रमुख सकुन्तला देवी साहको नेतृत्वमा नगरपालिकामा रहेका ९ वटा वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य र जनप्रतिनिधिहरूले संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।
नगरप्रमुख नागेन्द्रप्रसाद यादवको कार्यकक्ष, प्रशासन शाखा, लेखा शाखा, स्टोर, कार्यालय प्रमुख होमनाथ सुवेदीको कार्यकक्षदेखि लिएर नगरपालिकाको मुख्य गेटसम्म छुट्टाछुट्टै तालाबन्दी गरिएको छ ।
उपप्रमुख साहका अनुसार नगरपालिकाका जनप्रतिनिधिहरूले कार्तिक १९ गते १० बुँदे मागसहित प्रेस विज्ञप्ति बुझाएका थिए तर नगरप्रमुखले त्यसप्रति कुनै ध्यान नदिएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको हो । “नगरप्रमुखले हाम्रो मागलाई बेवास्ता गरेपछि हामीले अनिश्चितकालीन तालाबन्दी गरेका छौं,” साहले भनिन् ।
नगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष नवल राय यादवले १० बुँदे माग पूरा नभएसम्म तालाबन्दी नउठाउने चेतावनी दिएका छन् ।
यसअघि कार्तिक १९ गते ज्येष्ठ नागरिक र विद्यार्थीहरूको एक समूहले नगरपालिका कार्यालय घेराउ गर्दै नगरप्रमुख यादवविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले विगत चार महिनादेखि ज्येष्ठ नागरिक भत्ता र शिक्षकहरूको तलब रोकिएको भन्दै आक्रोश प्रकट गरेका थिए ।
वडा नं. १२ का वडाध्यक्ष रामदरेश रायले मलंगवा नगरपालिका ‘बिचौलिया र दलालको नियन्त्रणमा’ रहेको आरोप लगाएका छन् । उनका अनुसार, “गत १० वर्षदेखि निमित्त कार्यालय प्रमुख होमनाथ सुवेदीकै हातमा नगरपालिका चलिरहेको छ, सरुवा भएर पनि पैसा खर्च गरेर उनी फेरि-फेरि फर्किने गर्छन् ।”
जनप्रतिनिधिहरूले कार्यालय प्रमुख सुवेदीको कार्यकालमै शिक्षा, स्वास्थ्य र विकास निर्माणका काम चौपट भएको दाबी गरेका छन् । नगरप्रमुख यादवले सरुवा भई आएका नयाँ हाकिमलाई हाजिर गर्न नदिएकाले पालिकाको सम्पूर्ण काम ठप्प परेको वडा नं. ९ का अध्यक्ष चन्देश्वर राय यादवले बताए ।
जनप्रतिनिधिहरूले बुझाएको १० बुँदे मागमा नगरपालिका भित्रको एकदलीय तन्त्र अन्त्य गर्नुपर्ने, बिचौलियाको हस्तक्षेप रोक्नुपर्ने, सामाजिक सुरक्षा भत्ता तुरुन्त वितरण गर्नुपर्ने, सरुवा भई आएका कार्यालय प्रमुखलाई हाजिर गराउनुपर्ने, प्राविधिकबीचको विवाद समाधान गर्नुपर्ने, वडागत सरसफाइ र बत्ती व्यवस्थापनको जिम्मेवारी सम्बन्धित वडालाई दिनुपर्ने, डोजर र सरकारी सवारीसाधनको निजी प्रयोग बन्द गर्नुपर्ने लगायतका माग समावेश छन् ।
नगरप्रमुखलाई कार्तिक २३ गतेसम्मको समयसीमा दिइए पनि उनले कुनै पहल नगरेको कारण आइतबारदेखि तालाबन्दी सुरु गरिएको जनप्रतिनिधिहरूले बताएका छन् । उनीहरूले माग पूरा नभए चरणबद्ध कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
