सर्लाही, २४ कार्त्तिक । मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध विपक्षी दल आजै सर्वोच्च अदालत जाने भएका छन् ।
नियुक्तिविरुद्ध सर्वोच्च जाने तयारी भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता मनिष सुमनले शिलापत्रलाई जानकारी दिए । उनले भने, ‘आजै मुद्दा दर्ताको तयारीमा छौँ । आदेश पनि आजै आउला नि । ’
नेकपा (एमाले) संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख सुमित्र सुवेदी भण्डारीले आज बिहान संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्ति गरेकी थिइन् ।
उपधारा (२) को विकल्पमा जान सकिने हुँदाहुँदा पनि उपधारा (३) बाट मुख्यमन्त्री नियुक्ति गर्नु गलत भएको विपक्षी दलहरूको भनाइ छ । विक्षपी दलहरूमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी केन्द्र, एकीकृत समाजावादीलगायत पार्टी रहेका छन् ।
नेपाली कांग्रेस पनि मुख्यमन्त्री नियुक्तिको विपक्षमा रहेको छ ।
