सर्लाही, २७ कार्त्तिक । नेपाल र भारतबिच सुरक्षा समन्वय बैठक बुधबारदेखि नयाँदिल्लीमा सुरु भएको छ । बैठकमा नेपालको जेलबाट भागेका कैदी पक्राउदेखि खुला सीमाका कारण बढ्दो लागुऔषध तथा सीमापार अपराधको विषयमा छलफल भएको छ  । 

नेपालका तर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले नेतृत्व गरेका छन् । भारततर्फ सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक सञ्जय सिंघलले नेतृत्व गरेका छन्  । बैठकमा भाग लिन नेपालको टोली मंगलबार भारत गएको हो । यस्तो सुरक्षासम्बन्धी समन्वय बैठक हरेक वर्ष हुँदै आएको छ । यसपटकको बैठक नवौँ हो । 

सीमापार अपराधबाहेक यसपटक नेपालको जेलबाट भागेका भारतीय कैदीको विषयमा पनि छलफल भएको बैठकमा सहभागी एक अधिकारीले बताए । ती कैदी दुवै देशको सुरक्षा चुनौती भएकाले पक्राउका लागि सहयोग गर्न नेपाल पक्षले आग्रह गरेको छ । २४ भदौमा नेपालको जेलबाट पाँच सयभन्दा धेरै भारतीय कैदी भागेका थिए । त्यस्तै, चार हजार नेपाली कैदी अझै फरार छन् । उनीहरूमध्ये कतिपय भारत पुगेको आशंका गरिएको छ । 

नेपालले सीमामा नेपालीमाथि हुने दुव्र्यवहार, लुटपाट रोक्नुपर्ने, भारतबाट आउने लागुऔषध नियन्त्रण गर्नुपर्ने, राजस्व छली रोक्न सहकार्य बढाउनुपर्नेमा जोड दिएको छ । साथै, सीमा क्षेत्रमा २४ सै घण्टा गस्तीको प्रस्तावसमेत गरिएको एक अधिकारीले बताए । त्यस्तै, पर्यटक हेल्प डेस्क स्थापना गर्नुपर्ने विषय पनि उठेको छ ।

नेपालबाट महिला तथा बालबालिका भारतमा लगेर बिक्री हुने भएकाले त्यसमा पनि भारतीय पक्षको नेपालले सहयोग खोजेको छ । भारतीय पक्षले सीमापार अपराध तथा नेपालबाट भारतको सुरक्षामा चुनौती हुन सक्ने गतिविधि रोक्न सहयोगको अपेक्षा गरेको थियो । बैठक तीन दिनसम्म चल्नेछ । बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालयलगायत निकायका प्रतिनिधि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *