सर्लाही, ३० कार्त्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिबार दिएको एउटा अभिव्यक्तिले प्रदेशको राजनीति तरंगित बनेको छ । नेपाल र भारतबीचको सम्बन्धमा नै नकारात्मक असर पर्ने गरी दिएको अभिव्यक्तिको प्रदेशका नेताहरुले विरोध गरेका छन् ।
मुख्यमन्त्री यादवको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको मधेश प्रदेशका पूर्व मुख्यमन्त्रीहरुले प्रतिक्रिया जनाएका छन् । ‘जेनजी आन्दोलन पछि मन्त्रिमण्डलको गठनमा जुन खालको हस्तक्षेप अदृश्य शक्ति, विदेशी कुटनीतिकहरु बाट भयो, त्यसको ज्वलन्त उदाहरण डा.निकोलस भुसालको प्रेसमिटबाट जानकारी भएकै हो’ मुख्यमन्त्री यादवले अगाडि भने, वहाँले बालेन साह काठमाण्डौं महानगरपालिकाका मेयर मेरा साथी, मेरो समकक्षी भएको छ ।
वहाँले मलाई मन्त्री बनाउन चाहेको भनेको छ, र यसको कन्फर्म गर्नको निम्ति भारतीय दुतावासमा गएर मिलाउनु पर्ने भनेबाट यो अभिव्यक्त भएको जानकारी गराउन चाहन्छु ।’
मुख्यमन्त्री यादवले मधेश प्रदेशको वीरगञ्जमा रहेको भारतीय वाणिज्य दूतावासलाई लक्षित गर्दै मधेश प्रदेशको राजनीतिमा हस्तक्षेप गरेको आक्षेप लगाएका छन् ।
मधेश प्रदेश सम्बन्धी सञ्चारकर्मीहरुको जिज्ञासामा उनले भने, ‘मधेश प्रदेशमा पनि वीरगञ्जमा रहेको काउन्सुलर अफिसको प्रतिनिधिहरु सिधै आएर दलहरुसँग प्रत्यक्ष संवादमा रहेर दलहरुलाई थ्रेट गर्ने, दलहरुको पार्टी फोडिदिन्छु भन्ने दलहरुको पार्टी जुटाइ दिन्छु भन्ने दलहरुको नेताहरुलाई थ्रेट गर्ने प्रकृतिबाट नै यो खालको दिनप्रतिदिन र क्षण क्षणमा सहमति हुने र सहमति भंग गर्ने वातावरणको सृजना भएको व्यहोरा जानकारी गराउन चाहन्छु ।’ यस सम्बन्धमा भारतीय राजदूवास अथवा भारतीय वाणिज्य दूतावासको कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । तर मधेश प्रदेशका पूर्व मुख्यमन्त्रीहरुले वर्तमान मुख्यमन्त्रीको कडा आलोचना गरेका छन् ।
मधेश प्रदेशका पहिलो मुख्यमन्त्री मो.लालबाबु राउतले आफू पाँच वर्ष प्रदेशको मुख्यमन्त्री रहँदा भारतीय राजदूतावास अथवा वाणिज्य दूतावासबाट कुनै प्रकारको हस्तक्षेपकारी भूमिकाको अनुभव नभएको बताएका छन् ।
असंवैधानिक तरिकाबाट आफू मुख्यमन्त्री हुने र त्यसको विरोध हुँदा विदेशी कुटनीतिक निकायलाई दोष दिनु अनुचित हो ’ उनले भने, सरोज यादवलाई गलत ढंगले मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई सरकारले बर्खास्त गरेपछि गलत कार्य गरेको महसुसगरि पद छोड्नुपर्ने थियो ।
भारतलाई दोष दिएर देशमा राजनीति गर्ने नेकपा एमालेको पुरानो शैली रहेको उल्लेख गर्दै उनले गैरजिम्मेवार बोलीले दुई देशको सम्बन्ध प्रभावित हुन सक्ने चेतावनी दिए ।
मधेश प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोज कुमार यादवले आफू मुख्यमन्त्री रहेको बखत भारतीय दूतावासले कुनै किसिमको चलखेल नगरेको बताएका छन् ।
‘भारतीय दूतावासले हामीलाई कुनै किसिमको दबाब दिएको छैन र चलखेल गरेको छैन’ उनले भने, उनीहरुले काल्पनिक कुरा राखेर भ्रम फैलाउन चाहेकाले त्यस तर्फ हामी लाग्न हुँदैन ।
त्यसैगरी निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले मधेश प्रदेशको राजनीतिमा भारतीय दूतावासको सक्रियतालाई अस्वीकार गरेका छन् ।
‘प्रदेश प्रमुख, एमाले र सभामुखको गैरसंवैधानिक कार्यको हामी विरोधमा छौ’ उनले भने, अलोकतान्त्रिक क्रियाकलाप गरी मुख्यमन्त्री बनेका यादवकै कारण मधेश प्रदेशमा प्रमुख दलहरु आन्दोलित भएका छन् ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव असंवैधानिक प्रक्रियाबाट नियुक्त भएको जनाउँदै सात दलीय गठबन्धनले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् ।
सो मुद्दाको आइतबार पेशी रहेको छ । सात दलीय गठबन्धनले मुख्यमन्त्री यादवलाई सडकबाट हटाउन समेत दिनहुँ धर्ना र प्रदर्शन गरिरहेको छ । त्यसको विरोधमा एमालेले पनि मधेश प्रदेशमा कशक्ति प्रदर्शन गरिरहेको छ ।
