काठमाडौं, ३० कार्त्तिक । चीनको अन्तरिक्ष स्टेशनमा पठाइएका चार मुसा शुक्रबार पृथ्वीमा फर्किएका छन्।

ग्लोबल टाइम्सलाई चिनियाँ विज्ञान प्रतिष्ठान (सीएएस) बाट प्राप्त जानकारी अनुसार, अन्तरिक्ष विज्ञान प्रयोगका नमूनाहरूको नवौं ब्याचमा चार मुसा पनि समावेश थिए ।

ती मुसाहरू शुक्रबार चीनको अन्तरिक्ष स्टेशनबाट फर्केका छन्। मुसाहरूलाई चिनियाँ वैज्ञानिकहरूलाई सुम्पिएको छ ।

चीनको अन्तरिक्ष स्टेशनमा पठाइएको यो स्पेशशिपमा तीन अन्तरिक्ष यात्रीहरू- झांग लू, वू फेई र झांग होंगझांग पनि सहभागी थिए ।

सीएएसका अनुसार, अनुसन्धानकर्ताहरूले मुसाहरूको व्यवहार र प्रमुख शारीरिक तथा जैविक-रासायनिक सूचकहरूको जाँच गर्नेछन्। यसबाट अन्तरिक्ष वातावरणप्रति मुसाहरूको तनाव प्रतिक्रिया र अनुकूलन परिवर्तनहरूको प्रारम्भिक विश्लेषण गर्न सकिन्छ।

पठाइएका मुसाहरूमध्ये दुई भाले र दुई पोथी थिए । चिनियाँ मिडियाका अनुसार, प्रारम्भिक विश्लेषणमा मुसाहरूले अन्तरिक्ष स्टेशनमा कम खाना खाए, तर पानी भने धेरै पिएका पाइएको छ ।

अन्तरिक्षमा पठाउन ६० दिनभन्दा बढीको कडा तालिमपछि ३०० उम्मेदवारहरूमध्येबाट ‘स्पेस मुसा’ लाई छानिएको थियो। नोभेम्बरको सुरुमा उनीहरूलाई चीनको अन्तरिक्ष स्टेशन पठाइएको थियो। त्यहाँ १० दिनभन्दा बढी बसेपछि उनीहरू शुक्रबार पृथ्वीमा फर्केका हुन् ।

ग्लोबल टाइम्सको रिपोर्ट अनुसार, यी अनुसन्धान निष्कर्षहरू भविष्यका अन्तरिक्ष अनुप्रयोगहरूमा सहायक हुनेछन्, जसमा उच्च-प्रदर्शन भएका सौर्य सेल सुरक्षात्मक पदार्थहरू, उच्च-लाभ भएका विकिरण-प्रतिरोधी अप्टिकल फाइबरहरू र चन्द्रमामा आधार निर्माण सामग्री तयार गर्ने प्रक्रियाहरू समावेश छन् ।

यसले उपग्रह सञ्चार र बृहत् अन्तरिक्ष अन्वेषणका लागि महत्वपूर्ण सैद्धान्तिक आधार र प्राविधिक सहयोग पनि प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *