सर्लाही, ३० कार्त्तिक । एमालेले संसद् पुनर्स्थापनाका पक्षमा शनिबार देशभर शक्ति प्रदर्शनसहित सद्भावसभा आयोजना गरेको छ ।

जेन–जी आन्दोलनबाट सत्ताच्युत भएको दुई महिनापछि एमालेले तल्लो तहसम्म व्यवस्थित जनपरिचालन गर्दै उपत्यकाबाहेकका सबै जिल्ला सदरमुकाममा जुलुस र सभा सम्पन्न गरेको हो । 

संसद् विघटन र अन्तरिम सरकार गठनलाई ‘प्रतिगामी षड्यन्त्र’को संज्ञा दिँदै एमाले संसद् पुनर्स्थापनाको पक्षमा उभिएको छ । त्यही सिलसिलामा एमालेले आगामी ६ मंसिरमा काठमाडौंमा बृहत् विरोध र्‍याली र आमसभा आयोजनाको तयारी पनि गरिरहेको छ ।

यसअघि एमालेले एकैदिन देशका सबै वडा र पालिकाहरूमा फरक–फरक मितिमा विरोध र्‍याली र प्रदर्शन आयोजना गरेको थियो । 

स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले शनिबार सबै जिल्ला सदरमुकाममा प्रतिगमनविरुद्ध ठुलो जनसमूहसहित र्‍याली र प्रदर्शन सम्पन्न भएको जानकारी दिए ।

एमालेले सबै जिल्लामा एकैदिन कम्तीमा पाँच लाख नेता–कार्यकर्ता र समर्थक सडकमा विरोध प्रदर्शनका लागि सडकमा ओर्लिएको दाबी गरेको छ । 

गौतमले २७ मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टीको ११औँ महाधिवेशनको उद्घाटन कार्यक्रमको वार्मअप कार्यक्रमका रूपमा ६ मंसिरमा बृहत् आमसभा आयोजना गरिने बताए ।

एमाले महासचिव शंकर पोखरेलले पार्टी महाधिवेशनको उद्घाटन र्‍यालीलाई नेपालको इतिहासकै सबैभन्दा ठुलो र्‍याली र उत्सवका रूपमा आयोजना गर्ने गरी तयारीलाई तीव्रता दिइएको बताउँदै आएका छन् ।

शनिबारका सभाहरूमा पार्टीका पदाधिकारीहरू, स्थायी समिति, केन्द्रीय कमिटीका सबै नेताहरू देशैभर परिचालित भएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *