सर्लाही, ३० कार्त्तिक । सडक विभागले राष्ट्रिय गौरवको हुलाकी राजमार्ग परियोजनाको मधेश प्रदेशका विभिन्न ६ ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । विभागले शनिबार विभिन्न ६ ठेक्का किन नतोड्ने भन्दै १५ दिने सूचना निकालेको हो ।
बारम्बार मौखिक तथा लिखित ताकेता गर्दा पनि ठेकेदार कम्पनीले काम नगरेको विभागले जनाएको छ । ‘समयमा निर्माणकार्य सम्पन्न गर्नेतर्फ निर्माण व्यवसायीबाट कुनै चासो नदेखाइएको, प्रयास नगरेको देखिएकाले कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित सम्पूर्ण आधिकारिक व्यक्तिहरू यस कार्यालयमा उपस्थित हुन यो सूचना जारी गरिएको छ ।
उपर्युक्त अवधिमा कार्य सुरु गर्ने तदारुकता नदेखिएमा ठेक्का सम्झौता तोडी कालोसूचीमा राख्ने तथा नियमानुसार कारबाही अघि बढाइने जानकारीसमेत गराइन्छ । ठेक्का तोड्न नहुने केही कारण भए १५ दिनभित्र पेस गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ ।
त्यसमा महेन्द्रनगरको सुगम सेवा निर्माणसँग गरिएका तीन ठेक्का रहेका छन् । धनुषाको कादमचोक–कमलारोडमा मल्टिसेल बक्स कल्भर्ट बनाउन ०७८/७९ मा जनकपुरको जनकपुर–यदुकोहा सडकमा मल्टिसेल बक्स कल्भर्ट बनाउन ०७८/७९ मा र सिराहमा सहजा खोलामा पुल बनाउन ०७८/७९ मा उक्त कम्पनीसँग गरिएको ठेक्का सम्झौता तोड्ने गरी सम्झौता गरिएको छ ।
यस्तै, जनकपुरदेखि कमला पुलसम्मको सडक स्तरोन्नति गर्न ०७३/७४ मा धुकुछु कन्स्ट्रक्सन, शीतलपुर–खरैया टोल सडक प्याकेज–१ बनाउन ०७२/७३ मा हिमढुङ थोकर तथा नमिता जेभी र शीतलपुर–खरैया टोल सडक प्याकेज–३ बनाउन ०७२/७३ मा दिवा निर्माण सेवासँग गरिएको ठेक्का सम्झौता पनि तोड्ने गरी सूचना निकालिएको छ ।
अब सम्बन्धित कम्पनीले १५ दिनभित्र स्पष्टीकरण पेस गर्न सक्नेछन् । त्यो चित्त नबुझेमा सडक विभागले ठेक्का तोड्न सक्छ । विभागले पछिल्लो समय रुग्ण ठेक्काहरू तोड्ने पक्रिया अघि बढाइरहेको छ । अहिले दुई सय २९ भन्दा बढी ठेक्का तोड्ने प्रक्रियामा छन् ।
