सर्लाही, ३० कार्त्तिक । सर्लाही सदरमुकाम मलंगवामा मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको विरोधमा विभिन्न सात राजनीतिक दलहरूले शनिबार साँझ मसाल जुलुस निकालेर प्रदर्शन गरेका छन् ।

हालै तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधान विपरीत एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाउँदै त्यसको विरोधस्वरूप जुलुस निकालिएको आयोजकहरूले बताएका छन् ।

राष्ट्रिय मुक्ति पार्टी नेपाल सर्लाहीका अध्यक्ष गणेश यादवका अनुसार उक्त निर्णय संविधानसम्मत नदेखिएको र राजनीतिक नैतिकताविपरीत भएकाले संयुक्त रूपमा आन्दोलन थालिएको हो । उनले प्रदेश सभामुख रामचन्द्र मण्डलको गतिविधि विरुद्ध समेत असन्तुष्टि व्यक्त गर्दै यसैको विरोधमा सात दल एकजुट भएर सडकमा उत्रिएको बताए ।

नयाँ मुख्यमन्त्री संविधानअनुसार पुनः नियुक्त गर्नुपर्ने माग राख्दै निकालिएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको आन्दोलनकारीहरूले आरोप लगाएका छन् । प्रहरी र आन्दोलित दलका नेता तथा कार्यकर्ताबीच केहीबेर धकेलाधकेल समेत भएको प्रहरीले पुष्टि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *