सर्लाही, ०१ मंसिर । सर्लाहीमा प्रतिनिधि सभा निर्वाचनलक्षित मतदाता नामावली दर्ता अभियानले उत्साहजनक परिणाम दिएको छ ।
असोज १२ गतेदेखि कार्त्तिक २९ गते शनिबारसम्म जिल्लामा पाँच हजार ६१३ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख शिवनारायण साहले जानकारी दिएका छन् ।
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै देशव्यापी रूपमा मतदाता नामावली संकलन कार्य गरिरहेको छ । यही क्रममा शनिबारसमेत कार्यालय खोलेर ४९ जनाको नाम दर्ता गरिएको कार्यालयले जनाएको छ ।
थपिएका नयाँ मतदातामध्ये तीन हजार २८९ पुरुष र दुई हजार ३२४ महिला रहेका छन् । केही दिनअघि दैनिक सात–आठ सयसम्म सेवाग्राही नाम दर्ताका लागि कार्यालय पुगे पनि हाल अनलाइन सुविधाले कार्यालयको चाप कम भएको प्रमुख साहले बताए ।
राष्ट्रिय परिचयपत्र बनाउँदा लिइएको जैविक तथ्यांक प्रयोग गरेर घरबाटै अनलाइनद्वारा नाम दर्ता गर्न सकिने व्यवस्था भएपछि सेवाग्राहीको भीड घटेको हो ।
चन्द्रनगर गाउँपालिका–२, बबरगन्जका शिवनाथ राउतले आफूले १५० भन्दा बढी व्यक्तिको निःशुल्क अनलाइनमार्फत मतदाता दर्ता गरिदिएको बताए ।
अनलाइनबाट दर्ता गरिएको विवरण जिल्ला निर्वाचन कार्यालयले एक–दुई दिनभित्र ‘एप्रुभ’ गर्ने र त्यसको सूचना मोबाइलमा म्यासेजमार्फत आउने व्यवस्था गरिएको छ ।
निर्वाचन घोषणा हुनुअघि सर्लाहीमा ४ लाख ९० हजार ४ जना मतदाता थिए । दर्तामा बढ्दो सहभागिता देखिएपछि निर्वाचन आयोगले म्याद थप गर्दै मंसिर ५ गतेसम्म कार्यालयमा गई वा घरबाटै अनलाइनमार्फत नाम दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ ।
