सर्लाही, ०१ मंसिर । चालु आर्थिक वर्षको चार महिनामा सरकारको वित्त कोष अर्थात् आय–व्यय खाता (बजेट) करिब डेढ खर्बले घाटामा देखिएको छ । कात्तिक मसान्तसम्म ३ खर्ब ३३ अर्ब राजस्व संकलन गर्दै गर्दा सरकारले यसै अवधिमा ४ खर्ब ६८ अर्ब ८८ करोड रुपैयाँ बराबरको बजेट खर्च गरेको हो ।
समीक्षा अवधिमा खुद आय–व्ययको सरकारी खाता १ खर्ब ३५ अर्ब ८८ करोड रुपैयाँले घाटामा गएको छ । तथापि, सरकारको चार महिनाको वित्तीय प्रगति जम्मा २३.८७ प्रतिशत मात्र बजेट कार्यान्वयन भएको स्थिति छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्म विनियोजित बजेटको जम्मा ४ खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख रुपैयाँ खर्च भएको छ ।
आर्थिक वर्ष २०८२/८३ का लागि केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको थियो ।
जसमध्ये विकास खर्च अर्थात्, पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा पहिलो चार महिनामा जम्मा ६.२१ प्रतिशत अर्थात्, २५ अर्ब ३१ करोड रुपैयाँ बराबर मात्र खर्च हुन सकेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यस्तो स्थितिले पुँजीगत खर्चमा सरकारको कमजोर अवस्था प्रदर्शन हुन्छ ।
जेन–जी आन्दोलनपछि बिग्रिएको माहोलका कारण सरकार परिवर्तन र काममा अवरोधले गर्दा पुँजीगत खर्चमा समस्या देखिएको सरकारी पक्षले जनाएको छ ।
यता, नियमित खर्चतर्फ भने समीक्षा अवधिमा विनियोजित बजेटको २७.१८ प्रतिशत अर्थात्, ३ खर्ब २० अर्ब ९९ करोड रुपैयाँ खर्च भइसकेको छ ।
