सर्लाही, ०२ मंसिर । नेदरल्याण्ड्समा सडक कुकुरहरू छैनन् । यसको अर्थ त्यहाँ कुकुरहरू नष्ट गरिएका होइनन्, व्यवस्थापन गरिएको हो । सन् १८०० र १९०० को दशकमा त्यहाँ पनि सडक कुकुर ‘ठूलो समस्या’ मानिएको थियो ।

यो समस्याको कसरी हल गर्ने त ? यसको उपाय निकालिएको थियो, ‘ति सबै कुकुर मार्ने ।’ तर यो व्यवहारिक र वैज्ञानिक तरिका थिएन ।

अर्को उपाय अपनाइयो, घरमालिकले आफ्नो कुकुर छाड्न नहुने । हरक्षण डोरीले बाँधेर राख्नुपर्ने । ‘कुकुर कर’ पनि लगाइयो । तर, यसको उल्टो असर पर्‍यो । मान्छेहरूले कर तिर्न नपरोस् भनी पालेका कुकुरहरू सडकमा ल्याएर छाड्न थाले ।

२० औं शताब्दीको अन्त्यतिर नेदरल्याण्ड्सले यसको दिगो उपायको खोजी गर्‍यो । साथसाथै मानवतामुखी पनि । यसका लागि पशु हिंसाविरुद्ध कडा कानुन पारित गरियो । यदि पशुलाई बेवास्ता वा दुर्व्यवहार गरिएमा तीन वर्षसम्म जेल र जरिवाना हुने ।

तीन कदम, जसले सडक कुकुर व्यवस्थापन सम्भव भयो ।एक

सरकारले डग ब्रिडर वा व्यवसायिक केनल क्लबबाट किनेको कुकुरमा उच्च कर लगायो । यसले गर्दा सडकका वा सेल्टरका कुकुरहरू अपनाउन (एडप्ट गर्न) प्रोत्साहित गर्‍यो ।

दुई

कुकुरलाईलाई खोप लगाउने, बन्ध्याकरण गर्ने कार्यक्रम सुरु गरियो, जसले कुकुरको संख्या नियन्त्रणमा सहयोग पुग्यो ।

तीन

कुकुरको उद्धँर र कल्याणका लागि विशेष ‘पेट पुलिस’ एकाई स्थापना गरियो । पशु क्रुरताको कडा कानुन बनाइयो । पशु कल्याण मापदण्डमा नेदरल्याण्ड्स अग्रणी मुलुक हो । त्यहाँ कुकुरलाई सताउनु, लखेट्नु, यातना दिनु, लामो समय बाँधेर राख्नु, खोरभित्र थुन्नु अपराध मानिन्छ । त्यति मात्र होइन, लामो समयसम्म एक्लै छाड्न, गाडीभित्र थुनेर राख्न पाइँदैन ।

एकातिर नेदरल्याण्डमा पशु कल्याणको कानुन कडा छ भने अर्कोतिर जनचेतना पनि उच्च छ । त्यहाँ सानै उमेरदेखि बालबालिकालाई पशुहरूको माया र सम्मान गर्न सिकाइन्छ । विद्यार्थीलाई कुकुरहरूको हेरचाहबारे पनि सिकाइन्छ ।

नेदरल्याण्ड्समा कुकुर व्यवस्थापनका लागि मुख्य रूपमा ‘जनवार कानुन’ मा आधारित छ, जसलाई २०११ म संशोधन गरी थप कडा बनाइएको थियो ।

नेदरल्याण्ड्सको कुकुर व्यवस्थापन कानुन मुख्य रूपमा ’जनावर कानुन’ (Animals Act १९९२) मा आधारित छ, जसलाई २०११ मा संशोधन गरी थप कडा बनाइएको थियो । यो कानुनले कुकुरहरूलाई ‘सहयोगी जनवार’को रूपमा वर्गीकरण गर्छ र उनीहरूको कल्याणलाई मानव अधिकारसँग जोड्छ ।

जिम्मेवार मालिक

नेदरल्याण्ड्समा मालिकले कुकुरको सम्पूर्ण विवरण दर्ता गराउनुपर्छ । ७ हप्ताभित्र माइक्रोचिप लगाउन अनिवार्य छ । यसले गर्दा कुकुरलाई मालिकले जथाभावी छाड्न, लखेट्न पाउँदैनन् । कसको कुकुर हो, कसरी पालिएको छ सबैकुरा थाहा हुन्छ । कुकुर हरायो भने पनि सजिलै फेला पार्न सकिन्छ ।

खोप र स्वास्थ्य

कुकुरलाई अनिवार्य र नियमित रूपमा रेबिजलगायत रोगविरुद्ध खोप लगाइदिनुपर्छ । वार्षिक रुपमा उनीहरूको स्वास्थ्य जाँच गरिदिनुपर्छ । सडक कुकुरको हकमा भने स्थानीय प्राधिकरणले निःशुल्क खोप शिविर सञ्चालन गर्छ ।

बन्ध्याकरण र प्रजनन नियन्त्रण

सडकका कुकुर तथा मान्छेले पालेका कुकुरलाई बन्ध्याकरण गर्न प्रोत्साहित गरिन्छ । साथै कुकुर प्रजनन गराएर बेचबिखन गर्ने व्यवसायलाई नियमन गरिएको छ । तिनीहरूले जथाभावी र अत्यधिक प्रजनन गराउन पाउँदैन । अवैध प्रजनन गरेमा एक वर्ष जेल सजाय दिइन्छ ।

हिंसा र क्रुरता प्रतिबन्ध

त्यहाँ कुकुरमाथि कुनै पनि प्रकारको शारीरिक वा मानसिक हिंसा प्रतिबन्धित छ । कुकुरलाई ‘भावनात्मक प्राणी’ मानेको छ र उनीहरूलाई दुःखी बनाउनुलाई अपराध ठान्छ । साङ्लाले बाँधेर राख्नु, अपुग खाना दिनु अपराध हो ।

कुकुर पालनपोषणको प्रथा

नेदरल्याण्ड्समा कुकुर पाल्नु एक सांस्कृतिक परम्परा हो । हरेक १०० घरमध्ये २० घरमा कुकुर पालिएका छन् । त्यहाँ कुकुरलाई परिवारको सदस्य जसरी पालनपोषण गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *