सर्लाही, ०३ मंसिर । एमाले अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार असंवैधानिक भएको दोहोर्याउँदै संविधान र कानुनमा टेक्ने र झुन्ड्याउने दुवै आधार नभएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा बसेको विघटित संसदीय दलको बैठकमा बाेल्दै ओलीले भने , ‘यो सरकार कसले बनाएको छ, न यसको टेक्ने आधार छ, न कुनै झुन्ड्याउने आलम्ब छ, यो पूर्ण रूपमा असंवैधानिक छ ।’
देशलाई तहसनहस बनाउने नियोजित षड्यन्त्रको शृंखलाअन्तर्गत २३ भदौमा गोली चलाउने बाध्यात्मक परिस्थिति सिर्जना गरी २४ भदौमा जेन–जीका नाममा विध्वंस मच्चाइएको ओलीको आरोप छ ।
ओलीले पार्टीभित्रैबाट गोलीकाण्डको जिम्मा लिनुपर्ने र नेतृत्वविरुद्ध अभिव्यक्ति आएकोमा समेत आलोचना गरे ।
‘कतिपय मान्छेहरू धरहरा मैले बनाएँ भन्ने, तर गोली कसले चलायो भनेर भन्न मिल्छ भन्दै जिम्मा लिनुपर्छ भनेर बोलिरहेका छन्,’ ओलीले भने, ‘यो हाम्रो पार्टीविरुद्धको स्पष्ट हमला हो । हाम्रो लिडरसिपविरुद्धको हमला हो ।’
केही दिनअघि उपाध्यक्ष सुरेन्द्र पाण्डेले गोलीकाण्डको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने अभिव्यक्ति दिएका थिए । उनलाई लक्षित गर्दै ओलीले पाण्डेको अभिव्यक्ति पार्टीविरोधी भएको बताए । उनले त्यस्ता भ्रमपूर्ण अभिव्यक्तिबाट अलमलमा नपर्नसमेत ध्यानाकर्षण गराए ।
‘जिम्मा लिनुपर्छ तर जिम्मा लिने भनेको के ? परिस्थिति त्यहाँ त्यस्तो बन्यो भनेर नेपाली सेनाले, नेपाल प्रहरीले भनिरहेको छ । नियन्त्रणका लागि कि त आगो लगाउन छोड्नुपर्यो, की आफैँ समाप्त हुनुपर्यो,’ ओलीले गोलीकाण्डमा घुसपैठ भएको दाबी गर्दै भने, ‘के जेन–जीहरू पूरा कालो पहिरनमा आँखा मात्र खुल्ला राखेर आएका थिए ? जेन–जीहरू त युनिफर्ममा आएका थिए । अरनपरन खटनपटन गर्नेचाहिँ कालो पहिरनमा थिए । त्यसैले हामी अलमलमा पर्नुपर्ने आवश्यकता छैन,’ ओलीले भने ।
