सर्लाही, ०३ मंसिर ।सर्लाहीको पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बागमती नगरपालिका–११, रायमाझी चोक नजिक कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा बागमती नगरपालिका–४, प्रसाई टोलका ५० वर्षीय केशव शिवाकोटीको ज्यान गएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।
मङ्गलबार राति बागमतीमा बालाचतुर्दशी मेला हेरेर घर फर्किरहेका शिवाकोटीलाई नम्बर खुल्न नसकेको कारले ठक्कर दिएको प्रहरीले बताएको छ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगन्जस्थित न्यूरो अस्पताल लगिएकोमा बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।
फरार कारले पैदलयात्रीलाई ठक्कर दिएपछि बागमती प्रदेश ०३–००१ ख ३४५५ नम्बरको यात्रुबाहक बसलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि चालकसहित कार फरार रहेको र खोजी तीव्र बनाइएको इलाका प्रहरी कार्यालय हरिवनका निमित्त प्रमुख, बरिष्ठ प्रहरी नायब निरीक्षक दीपेन्द्र मल्लले बताए। उनका अनुसार कारको लगभग पहिचान भइसकेको छ।
घटनापछि स्थिति बुझ्न सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्का बुधबार बिहानै बागमती पुगेका छन् ।
