सर्लाही, ०४ मंसिर । वीरगञ्ज–१५ स्थित नयाँ बसपार्कमा मङ्गलवार राति दुई वटा बसमा लागेको आगो योजनाबद्ध आगजनी भएको पुष्टि भएको छ । बस सञ्चालक आफैँले बिमा कम्पनीबाट रकम दाबी गर्न आगो लगाएको स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ना ५ ख ६२१६ र ना ५ ख ६२१७ नम्बरका दुई बसमा मङ्गलवार राति करिब पौने १ बजे आगलागी भएको थियो । करिब ४–५ महिनादेखि बसपार्क कम्पाउन्डभित्र पार्किङ गरेर राखिएका दुवै बस पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठकले बुधवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै आगलागी आकस्मिक नभई पूर्ण रूपमा योजनाबद्ध भएको बताए । “बस सञ्चालकले बिमा रकम प्राप्त गर्ने उद्देश्यले आफैँ आगो लगाएको स्वीकार गरिसकेका छन्,” उनले भने ।

एसपी पाठकका अनुसार आगलागीको सूचना पाउनासाथ खटिएको प्रहरी टोली र वीरगञ्ज महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । तर आगो नियन्त्रणमा आउँदा दुवै बस जलेर खरानी भइसकेका थिए ।

आगलागी शङ्कास्पद देखिएपछि प्रहरीले फरक ढङ्गले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानकै क्रममा बस सञ्चालकले अपराध स्वीकार गरेको एसपी पाठकले बताए ।

“घटनामा अन्य व्यक्तिको पनि संलग्नता देखिएको छ । थप अनुसन्धान भइरहेकोले अहिले नै नाम खुलाउन मिल्दैन,” एसपी पाठकले भने, “बस सञ्चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *