सर्लाही, ०४ मंसिर । बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित सिमरा विमानस्थल वरपर बुधवार तनावग्रस्त बनेको स्थिति बिहीबार बिहानदेखि पूर्ण रूपमा सामान्य बनेको छ ।
बुधवार नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेतको भ्रमणविरुद्ध भएको प्रदर्शन र त्यसपछिको झडपका कारण केही घण्टाका लागि जारी निषेधाज्ञा (कर्फ्यु) आज पूर्ण रूपमा हटाइएको छ ।
सिमरा विमानस्थलका सूचना अधिकारी सुरेन्द्र कुशवाहले बिहीबार बिहानदेखि विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएको र सबै उडान नियमित रूपमा भइरहेको जानकारी दिए ।
“बिहान ८:०५ को बुद्ध एयरको पहिलो उडान ९:०६ मा सिमरा अवतरण भयो भने ८:४५ को उडान ९:४३ मा काठमाडौँ उड्यो,” उनले भने । अन्य उडानहरू पनि निर्धारित समयभन्दा सामान्य ढिलाइमै सञ्चालन भइरहेको उनको भनाइ छ ।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सिमरा क्षेत्रमा लगाइएको कर्फ्यु आदेश पूर्ण रूपमा फिर्ता लिइएको र अहिले कुनै पनि किसिमको प्रतिबन्ध नरहेको स्पष्ट पारे ।
“जनजीवन पूर्ण रूपमा सामान्य बनेको छ, अब उत्पन्न हुने परिस्थितिलाई हेरेर मात्र थप निर्णय लिइनेछ,” प्रजिअ मिश्रले भने । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ९डिएसपी० विजयराज पण्डितले पनि सिमरा क्षेत्र शान्त रहेको र सर्वसाधारणलाई कुनै रोकटोक नरहेको बताए ।
“सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ तर आम नागरिकलाई आवतजावतमा कुनै बाधा छैन,” डिएसपी पण्डितले भने ।
हिजोको घटनाको अनुसन्धान जारी रहेको र दोषीमाथि कानुनी कारबाही हुने उनको भनाइ छ । बुधवार बिहान ‘जेन–जी’ युवा समूहले एमाले नेताहरूको भ्रमणविरुद्ध गरेको प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो भने विमानस्थल क्षेत्रमा केही घण्टा तनाव कायम रहेको थियो ।
त्यसपछि दिउँसो १२ : ३० देखि साँझ ८ बजेसम्म जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरिएको थियो । दिनभरको तनावपछि आज बिहीबार बिहानैदेखि सिमरा बजार, विमानस्थल र आसपासका क्षेत्रमा पूर्ण शान्ति छाएको छ भने यात्रुहरूले पनि राहत महसुस गरेका छन् ।
