सर्लाही, ०४ मंसिर । सदरमुकाम मलंगवा नगरपालिकामा उपप्रमुख र वडाध्यक्षहरूले लगाएएको तालाबन्दी ११ दिनपछि खुलेको छ । बुधबार जनप्रतिनिधि र प्रशासनबीच सहमति जुटेपछि नगरपालिका कार्यालय पुनः सञ्चालनमा आएको हो ।

मेयर नागेन्द्रप्रसाद यादवले आफूहरूको माग बेवास्ता गरेको आरोप लगाउँदै उपमेयर शकुन्तलादेवी साह र वडाध्यक्षहरूले कात्तिक २३ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेका थिए । यसअघि भएका गुनासोसमेत सुनुवाइ नभएको भन्दै जनप्रतिनिधिहरूले कार्यालयमा ताला लगाइदिएका थिए ।

यसबीच मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव होमप्रसाद घिमिरेलाई मलंगवा सरुवा गरेको थियो । उनले बुधबार हाजिर भएका बेला उपप्रमुख र वडाध्यक्षहरूले उठाएका माग सम्बोधन गर्न आवश्यक पहल तथा समन्वय गर्ने प्रतिवद्धता जनाएपछि तालाबन्दी खोलेको हो ।

हाजिर लगतै तालाबन्दी फुकाउन मुख्य भूमिका खेल्ने घिमिरेले सबै पक्षबीच समन्वय गरेर कामलाई गति दिने बताएका छन् । उनले पहिलो निर्णयका रूपमा सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाई तत्काल अघि बढाउने घोषणा गरेका छन् ।

११ दिनपछि नगरपालिका कार्यालय खुलेसँगै स्थानीय सेवाग्राहीले अत्यावश्यक सेवा फेरि पाउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *