सर्लाही, ०५ मंसिर । सर्लाहीको मलंगवास्थित नापी कार्यालयमा नक्सा मिलानको नाममा हुने मनपरी र भ्रष्टाचार सम्बन्धी अर्को सनसनीपूर्ण घटना बाहिर आएको छ ।

चक्रघट्टा गाउँपालिका–५, पडरिया निवासी विजय कुमार चौधरीले नापी कार्यालयका अमिन रोशन यादवमाथि गम्भीर अनियमितता र ठगीको आरोप लगाएका छन् ।

चौधरीका अनुसार उनले १५ वर्षअघि साविक मलंगवा नपा–३ ‘क’ किता नं. २१६३, क्षेत्रफल ०–१–११–१५ सहितको जग्गा विधिवत् खरिद गरेका थिए ।

१२ वर्षदेखि त्यही जग्गामा घर बनाएर बस्दै आएका चौधरीले हालसाबिकका लागि नापी कार्यालय जाँदा अमिन रोशन यादवले “जग्गाको क्षेत्रफल जस्ताको त्यस्तै कायम गरिएको छ” भन्दै सहिछाप गराउन दबाब दिएको आरोप छ । तर, चौधरीले सो जग्गा बैंकमा धितो राख्न खोज्दा वास्तविकता खुल्न आएको बताए ।

उनका अनुसार हालसाबिक प्रक्रियामा अमिन यादवले नक्साबाट ४ धुर जग्गा कट्टा गरी क्षेत्रफल नै घटाइदिएको खुलेको हो । “मलाई झुट्टा बहानामा सहिछाप गराए, पछि थाहा पाएँ कि मेरो ४ धुर जग्गा नै गायब बनाइएको रहेछ,” पीडित चौधरीले बताए ।

उनी भन्छन्, “अमिन यादवले मामिला मिलाइदिने भन्दै ९ लाख रुपैयाँ बार्गेनिङसमेत गरे । यो ठगी मात्र होइन, ठाडै भ्रष्टाचार हो ।”
चौधरीले तत्काल कटाइएको ४ धुर जग्गा फिर्ता गरिदिन र घटनामा संलग्न अमिन यादवमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन् । सबैभन्दा गम्भीर पक्ष, चौधरीका अनुसार सो क्षेत्रमा अन्य व्यक्तिहरूको नक्सा मिलान गर्दा जग्गा बढेको देखिएको छ, तर एउटै प्रक्रियामा उनको मात्र क्षेत्रफल घटाइएको छ ।

यसले नापी कार्यालयको भूमिकाप्रति ठूला शंका उत्पन्न गरेको स्थानीयवासीको भनाइ छ । नापी कार्यालय मलंगवाबाट यस सम्बन्धमा कुनै प्रतिक्रिया नआएपछि कार्यालयको मौनताले घटनालाई झन् विवादास्पद बनाइरहेको छ ।

स्थानीयवासीले पनि नापी कार्यालयभित्र चल्ने ‘बार्गेनिङ र घुसतन्त्र’ फेरि एकपटक उजागर भएको टिप्पणी गरेका छन् ।
पीडित चौधरीले प्रशासन र सम्बन्धित निकायलाई न्याय दिलाउन तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *