सर्लाही, ०५ मंसिर । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्ना नेताहरूलाई कुनै आयोगका नाममा बयान दिन बोलाए एक लाख कार्यकर्ता सिंहदरबार प्रवेश गर्ने चेतावनी दिएका छन् ।
नेसनल भोलेन्टियर फोर्स (एनभिएफ)को घोषणा सभामा बस्नेतले कार्की आयोगलाई असंवैधानिक भन्दै बयानमा बोलाए एमालेका कार्यकर्ता सिंहदरबार प्रवेश गर्ने चेतावनी दिए ।
२४ भदौको जेन–जी प्रदर्शनलाई अराजक जत्थाको संज्ञा दिँदै उनले एनभिएफले तोडफोड र आगजनी नगर्ने बताए । ‘हामी भदौ २४ गतेका अराजकहरूजस्तो सिंहदरबार तोडफोड र आगजनी गर्दैनौँ,’ बस्नेतले भने, ‘बरु फूलमाला लगाएर सुशीला कार्की र मन्त्रीहरूलाई सिंहदरबारबाट बिदाइ गर्नेछौँ ।’
बस्नेतले एक लाख जनताको उपस्थितिमा सिंहदरबारभित्रै आमसभा आयोजना गर्ने पनि बताए। त्यस्तै, कार्यक्रममा उनले जेन–जी आन्दोलनमा ध्वस्त पारिएका प्रहरीका पाँच सय चौकी पुनर्निर्माणमा फोर्स परिचालन गर्ने घोषणा पनि गरे ।
नेपोबेबी भनेर विभिन्न नेताका छोराछोरीलाई आतंकित पारिरहेकोमा उनले अहिलेको सरकारमा भएका ११ जनाका छोराछोरी विदेशमा भएकाले आफूतिर आउन सक्ने आरोपलाई अन्यत्र पन्साएको बताए ।
‘अहिलेको सरकारका प्रधानमन्त्री, मन्त्री र सरकारसम्बद्ध ११ जनाका छोराछोरी विदेशमा बस्छन्,’ बस्नेतले भने, ‘नेपोबेबीका ड्याड मम्स् (बाबुआमा)ले शासन चलाएका छन्। यो जायज छैन ।’
