सर्लाही, ०७ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारमा बसेका सबैलाई सरकार छाड्न भनेका छन् ।

काठमाडौंमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले सरकार नेपाली जनताले चुनेका प्रतिनिधिहरूले चलाउने हुँदा जनताले नछानेका व्यक्तिले सरकार चलाउने अधिकार नभएको जिकिर गरे ।

उनले यो सरकार हत्या, हिंसा, तोडफोडबाट बनेको आरोप लगाएका छन् । ‘आगो लगाएर, घर जलाएर, अफिस जलाएर र आतंक फिँजाएर सत्ता कब्जा गर्ने अनि हामीले बलियो किलो गाड्यौँ भनेर शासक हुने हक छैन,’ ओलीले भने, ‘यो सरकार जनताबाट निर्वाचित होइन ।

एउटा साधारण गैरसरकारी संस्थाले पनि शासन विधिको हुनुपर्छ, व्यक्तिको होइन भन्छ । अहिले त शासन विधिको त कुरै छाडौँ व्यक्ति पनि अनाधिकृत व्यक्तिको सरकार बनेको छ ।’

उनले ‘घामजून रहुन्जेल रहन्छु’ भन्ने सोचेको भए त्यो सपना पूरा नहुने बताए । उनले सरकारले कुनै पनि हालतमा चुनाव नगराउने ठोकुवा गरेका छन् । साथै, चुनाव गराउने कुनै पनि अधिकार नभएको जिकिर गरेका छन् । ‘तपाईंलाई चुनाव गराउने अधिकार पनि छैन । को हो तपाईं चुनाव गराउने ?’ उनले प्रधानमन्त्री सुशीला कार्कीलाई लक्षित गर्दै प्रश्न गरे ।

ओलीले आफ्ना नेता कार्यकर्ताहरू पार्टीका कार्यक्रममा जान रोकिएको बताएका छन् । उनले दुई–चार जना मान्छेहरूले ढुङ्गा हान्दैमा जहाज जान नदिएको भन्दै सरकार फेल भएको टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *