सर्लाहीमा मतदाता नामावली दर्ता अभियानले उल्लेखनीय प्रगति गरेको छ ।

निर्वाचन आयोगले मंसिर ५ गतेसम्मका लागि तोकेको म्यादभित्र जिल्लामा २२ हजार ६३७ नयाँ मतदाता सूचीकृत भएका छन् । जिल्ला निर्वाचन कार्यालय सर्लाहीका सूचना अधिकृत अरविन्द कुमार झालका अनुसार राष्ट्रिय परिचयपत्र नम्बरमार्फत १६ हजार ९५ जना र कार्यालयमा स्वयं उपस्थित भई नाम दर्ता गराउने ६ हजार ४८४ जना रहेका छन् ।

गत असोज १० गतेदेखि सुरु भएको दर्ता अभियानमा नयाँ मतदातामध्ये अधिकांश युवा रहेका कार्यालयले जनाएको छ ।

कात्तिक १६ गतेसम्म सर्लाहीमा ४ लाख ८४ हजार ५७७ मतदाता दर्ता थिए ।

नयाँ मतदाता थपिएसँगै अहिले जिल्लाको कुल मतदाता संख्या ५ लाख ७ हजार २ सय १४ पुगेको छ । यसमध्ये पुरुष र महिलाको हालको विस्तृत संख्या अद्यावधिक हुँदै गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *