सर्लाही, ०९ मंसिर । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर अन्तर्गत कमला नदी पुल सहित २१ वटा निर्माणाधीन रहेका छन् ।

सो योजना कार्यालयबाट निर्माण हुने भनिएका ६१ वटा पुल मध्ये २२ वटा निर्माण सम्पन्न भइसकेको छ । तर १८ वटा पुलको ठेक्का व्यवस्थापन अझैसम्म गर्न सकिएको छैन ।

स्रोतको अभाव तथा अन्य प्राविधिक समस्याले गर्दा ती १८ वटा पुलको ठेक्का व्यवस्थापन हुन समय लागेको आयोजनाको भनाई छ ।

निर्मित २२ वटै पुलमा यातायात सञ्चालनमा आइसकेको छ भने १४ वर्षदेखि कमला नदी पुल सरकारको लापरवाहीले गिज्याइरहेका छन् । पछिल्लो पटक शिघ्र सम्पन्न गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुनः आवश्यक पहल थालेका छन् ।

१४ वर्षदेखि गिज्याइरहेका कमला नदी पुल बारे अनेकानेक गुनासो पुग्न थालेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शुक्रवार आफै अनुगमन गर्दै सो निर्माणाधीन समस्याग्रस्त पुल निर्माणलाई तदारुकता दिन र तीन सिफ्टमा काम गर्न ठेकेदारलाई निर्देशन दिए ।

हुनत यसअघि १४ वर्षमा जति पनि भौतिक पूर्वाधार मन्त्री भए त्यस मध्ये अधिकांशले अनुगमन गरिसकेका छन् । तर हालसम्म सम्पन्न हुन सकेको छैन ।

हुलाकी राजमार्ग योजना, जनकपुर अन्तर्गत १६ वटा सडक खण्डको कुल चार सय तीन किलोमिटरमध्ये अब ६१ किलोमिटर खण्डमात्र कालोपत्र गर्न बाँकी रहेको छ ।

सो खण्डका काम धमाधम भइरहेको र कुनै अवरोध नभएका खण्डमा चालु आवको अन्त्यसम्म एउटा चरणमा पुर्याउन सकिने योजना प्रमुख डि।ई। कृष्णकुमार महतोले जनाएको छ ।

उनका अनुसार हालसम्म तीन सय ४२ दशमलव ६८ किलोमिटर सडक कालोपत्र भइसकेको छ । हालसम्म जनकपुर–यदुकुहा सडकको (१६ दशमलव ६३ किलोमिटर) मध्ये १२ किलोमिटर, जलेश्वर–हर्दी सडकको २८ किलोमिटर, माईस्थान–गौशला सम्सी सडकको (२६ दशमलव ९४ किलोमिटर) मध्ये २६ किलोमिटर कालोपत्र भइसकेको छ ।

धनुषाको कदमचौक कपतौल तीनकौरिया (३० दशमलव ५८ किलोमिटर) मध्ये २४ किलोमिटर, धनुषाकै यदुकुहा खजुरी महुवा सडक १० किलोमिटरमध्ये ६ किलोमिटर, धनुषा र महोत्तरीको जनकपुर बसबिटी हर्दी पोखरी भिण्डा सङ्ग्रामपुर सडकको २० किलोमिटरमध्ये १८ किलोमिटर, धनुषाको वीरेन्द्रबजार–यदुकुहा–महिनाथपुर सडकको (३२ दशमलव ३१ किलोमिटर) मध्ये ३१ किलोमिटर कालोपत्रे भइसकेको छ ।

त्यस्तै सर्लाहीको एमआरएम बाँके सङ्ग्रामपुर सडकको (२२ दशमलव ४८ किलोमिटर) मध्ये २० दशमलव ७७ किलोमिटर कालोपत्र भएको छ ।

सोही जिललको फुलजोर त्रिभुवननगर २३ दशमलव दुई किलोमिटर पूरै कालोपत्र भएको छ । सर्लाहीकै सितलपुर मलङ्गवा खरैइयाटोल (पूर्वपश्चिम हुलाकी) सडकको (४० दशमलव ३७ किलोमिटर) मध्ये ३८ किलोमिटर कालोपत्र भएको छ ।

सर्लाहीको नवलपुर–मलङ्गवा सडकको (२६ दशमलव ५९ किलोमिटर) नै कालोपत्र भएको छ । सोही जिल्लाको नयाँरोड–वरहथवा–मधुवनीको ४० दशमलव ५८ किलोमिटर नै कालोपत्र भएको छ ।

सिरहाको बलान कमला सडक (२९ दशमलव ९८ किलोमिटर), सिरहा धनुषा जोडने कमला नदी पुलको सडक सहित, सर्लाहीको गोडैता–महिनाथपुर– माधोपुर–जयनगर हनैर्या खण्डको १० किलोमिटर नै कालोपत्र हुन बाँकी रहेको छ ।

सिरहाको जम्दह लगडी गडियानी (२७ दशमलव ४६ किलोमिटर) सडक भने कालोपत्र हुनसकेको छैन । योजना प्रमुख महतोका अनुसार आयोजनाका लागि चालु आवको असोज मसान्तसम्म सात करोड नौ लाखबराबर खर्च भएको छ । हुलाकी सडक तथा पुल निर्माणका लागि ५९ करोड ९० लाख बजेट विनियोजन भएको छ ।

जग्गा खरिद, सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने संरचनाको क्षतिपूर्तिका लागि पाँच करोड बजेट विनियोजन भएकामा एक करोड तीन लाख ९० हजार खर्च भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *