सर्लाही, ०९ मंसिर । सर्लाहीको बसबरिया गाउँपालिका–२ मानपुर गोठस्थित बागमती नदीबाट निस्केको एकादशी खोला र आसपासका अलानी जग्गाबाट प्रशासन र जनप्रतिनिधिकै मिलेमतोमा अवैध रूपमा बालुवा तथा गिट्टी उत्खनन र तस्करी भइरहेको खुलासा भएको छ । सरकारी ऐन–कानूनको खुल्लमखुल्ला उल्लङ्घन गर्दै दैनिक रूपमा सामग्री चोरी निकासी भइरहेकाले स्थानीयवासी त्रसित बनेका छन् ।
प्राकृतिक स्रोत–साधनको उत्खनन तथा बिक्रीका लागि सम्बन्धित निकायको पूर्वस्वीकृति अनिवार्य छ । तर प्रतिबन्धित क्षेत्रमै पर्ने एकादशी खोलाको किनारबाट ठूलो परिमाणमा बालुवा–गिट्टी उत्खनन गरी तस्करी भइरहेको स्थानीयवासीको आरोप छ ।
यद्यपि सरकारले ढुंगा–गिट्टी–बालुवा उत्खनन तथा ढुवानीमा रोक लगाएको छ, बसबरिया गाउँपालिका–२ मानपुर गोठ एकादशी खोला र आसपासका अलानी जग्गाबाट दैनिक १५ भन्दा बढी ट्रिपर सामग्री बाहिरिने गरेको स्थानीयले बताएका छन् ।
डोजर र स्काभेटर प्रयोग गरी रातदिन उत्खनन भइरहेको र एक ट्रिपर बालुवा–गिट्टी १५ देखि २० हजार रुपैयाँसम्ममा खुलेआम बिक्री भइरहेको उनीहरूको भनाइ छ ।
यस किसिमको अनियन्त्रित उत्खननले आसपासका बस्ती तथा कृषि जमिन जोखिममा परेका छन् । खोलाको बहाव परिवर्तन हुने, तटबन्द कमजोर बन्दै जाने तथा खेतबारी खोलामै बिलाउने खतरा बढेको स्थानीयवासी बताउँछन् । सरकारको अर्बौं लगानीमा निर्माण गरिएका तटबन्दसमेत प्रभावित हुने अवस्थाले थप चिन्ता बढाएको छ ।
स्थानीय सरकार, जनप्रतिनिधि, प्रशासन र ठेकेदारबीचको मिलेमतोका कारण अवैध उत्खनन रोक्न कुनै प्रभावकारी कदम नचुहिएको जनताको आरोप छ । स्थानीयले तत्काल कठोर अनुगमन र कारबाहीको माग गरेका छन् ।


