सर्लाही, ११ मंसिर । जेनजी आन्दोलनमा शहीद भएका परिवारको बालबालिका अध्ययनका लागि गोल्यान ग्रुपले वार्षिक डेढ करोड रुपैयाँ खर्च गर्ने भएको छ । ग्रुपले अघि सारेको योजनामा विद्यालय सञ्चालकहरूले साथ रहने बताएका छन् ।

शहीद परिवारका बालबालिकालाई अध्ययनको लागि गोल्यान ग्रुप, विद्यालय र अभिभावकबीच गोल्यान टावरमा मंगलबार त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौतापत्रमा ग्रुपको तर्फबाट कर्पोरेट अफेयर्स, पब्लिक रिलेसन एण्ड कम्युनिकेसन्स प्रमुख ज्योति गैह्रे, बालबालिका अध्ययनरत् विद्यालयका प्राध्यापक र बालबालिकाका संरक्षक (अभिभावक)ले हस्ताक्षर गरेका छन् ।

ग्रुपले गत असोज २४ मा गरेको घोषणालाई कार्यान्वयन गर्ने क्रममा त्रिपक्षीय सम्झौता भएको हो । कार्यक्रममा ६ जना शहीदका ९ बालबालिकालाई शैक्षिक वृत्ति प्रदान गर्नेगरी सम्झौता भएको छ ।

सम्झौता अनुसार ग्रुपले बालबालिकाको शिक्षामा मासिक ४० हजारको दरले वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँ खर्च ग्रुपले ब्यहोर्नेछ ।

‘उक्त छात्रवृत्तिमा विद्यार्थीको मासिक शैक्षिक शुल्क, खाना तथा खाजाको शुल्क, छात्राबास शुल्क, यातायात शुल्क, विद्यालयद्वारा सञ्चालित अतिरिक्त क्रियाकलापका शुल्क, वार्षिक भर्ना शुल्क, प्रशासनिक शुल्क, पुस्तक तथा स्टेशनरी खर्च, विद्यालयको पोशाक शुल्कलगायत विद्यालयको बिल–बिजकमा उल्लिखित सम्पूर्ण शुल्कहरू समावेश रहनेछ’ त्रिपक्षीय सम्झौतामा भनिएको छ, ‘छात्रवृत्ति रकम विद्यालयले समय–समयमा जारी गरेको बिल–विजक बमोजिम गोल्यान ग्रुपद्वारा सोझै विद्यालयलाई भुक्तानी गरिनेछ ।’

गोल्यान ग्रुपले छात्रवृत्ति रकमको सीमाभित्र रहेर विद्यार्थीको रुचीअनुसार अतिरिक्त क्रियाकलापमा खर्चसमेत ब्यहोर्नेछ । विद्यालयले अतिरक्त क्रियाकलाप प्रदान नगरेको खण्डमा विद्यार्थीले उक्त क्रियाकलाप अन्य संस्था/संगठनबाट सिक्न सक्ने र सो वापतको रकम ग्रुपले छात्रवृत्ति रकमको सीमाभित्र रहेर भुक्तानी गर्ने सम्झौतामा भनिएको छ।

त्रिज्योति सेकेन्डरी स्कूलका प्रिन्सिपल गणेशकुमार मिश्रले गोल्यान ग्रुपले बालबालिकाको भविष्यलाई केन्द्रमा राखेर गरेको प्रतिबद्धतामा साथ दिने बताए । त्रिज्योतिमा शहीद साजनकुमार राईका दुई छोरा अध्ययनरत छन् । उनीहरुकी आमाको पनि मृत्यु भइसकेकाले विशेष हेरचाह गर्नुपर्ने दायित्व विद्यालयको काँधमा आएको मिश्रको भनाइ छ।

प्याब्सनकी सल्लाहकारसमेत रहेकी क्याम्ब्रिज पब्लिक हाइ स्कुलकी संस्थापक प्रिन्सिपल रिता राई दाहालले गोल्यान ग्रुपले शिक्षाको जिम्मेवारी लिएका बालबालिकालाई समय–समयमा अतिरिक्त क्रियाकलाप आयोजना गरेर सामूहिक भेटघाट, घुलमिल र आपसी प्रतिस्पर्धाको वातावरण निर्माण गर्नुपर्ने सुझाव दिइन् ।

क्याम्ब्रिजमा शहीद सन्तोष विश्वकर्माका दुई छोरा र छोरी अध्ययनरत छन् । ‘गोल्यान ग्रुपले बालबालिकाको शिक्षाको जिम्मेवारी लिएर वास्तवमै बालबालिकाको अभिभावक भएको सन्देश दिएको छ’ उनले भनिन्, ‘हामी पनि आफ्नो तर्फबाट बालबालिकालाई राम्रो शैक्षिक वातावरण प्रदान गर्न प्रतिबद्ध छौं ।’

नर्थपोल एकेडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकृष्ण भेटवालले गोल्यान ग्रुपले सहिद बालबालिकाको शिक्षाको जिम्मेवारी लिएर समाजप्रतिको आफ्नो दायित्व थप स्पष्ट पारेको बताए ।

‘ग्रुपले आफ्नो व्यवसायसँगै सामाजिक सेवालाई पनि सँगसँगै अघि बढाइरहेको छ, यस कार्यले सामाजिक सेवा भाव अझ प्रष्ट भएको छ’ उनले भने । नर्थपोलमा शहीद अनिष पराजुलीका जेठा छोरा अध्ययनरत छन् । अनिषका कान्छो छोरालाई काठमाडौं यूरो स्कुलमा अध्ययनको लागि त्रिपक्षीय सम्झौता भएको छ ।

छात्रवृत्ति सम्झौता भएकामध्ये सहिद अनिष पराजुलीका दुई छोरामध्ये जेठो छोरा नर्थ पोल एकाडेमी, मनमैजुमा कक्षा ८ मा र कान्छो छोरा काठमाडौं यूरो स्कुल बानियाटारमा प्ले ग्रुपमा अध्ययनरत छन् ।

त्यसैगरी शहीद अभिषेक चौलागाईंकी बहिनी जागृति विद्या सदन इंलिस स्कुल भक्तपुरमा कक्षा ९ मा, शहीद बुद्धिबहादुर तामाङका छोरा कश्यप एकाडेमी कलंकीमा कक्षा ८ मा, शहीद सौरन किशोर श्रेष्ठका छोरा यूरो स्कुल छाउनीमा कक्षा १ मा, शहीद सन्तोष विश्वकर्माका छोरा र छोरी क्याम्ब्रिज पब्लिक हाइस्कुल बानेश्वरमा क्रमशः कक्षा ३ र २ मा तथा शहीद साजनकुमार राईका दुई छोरा त्रिज्योति सेकेन्डरी स्कुल कपनमा कक्षा ७ र यूकेजीमा अध्ययनरत छन् ।

सम्झौतामा सामेल बालबालिकाको कक्षा १२ सम्मको शैक्षिक खर्च घोषित आर्थिक प्याकेजको सीमाभित्र रहेर ब्यहोरिने ग्रुपले जनाएको छ । कार्यक्रममा बोल्दै ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्यानले शहीद परिवारका बालबालिकाको शिक्षाको दायित्व लिने प्रतिबद्धता कार्यान्वयनको महत्त्वपूर्ण चरण सुरु भएको बताए ।

जेन–जी आन्दोलनका शहीदको योगदानको कदर स्वरुप उनीहरूमा आश्रित बालबालिकाको शिक्षाको जिम्मेवारी लिइएको उनले बताए । ‘हामीले व्यवसायलाई प्रबर्द्धन गर्न वा कुनै मार्केटिङको लागि नभई मन–मुटुबाटै भावनात्मक रुपमा बालबालिकाको शिक्षाको जिम्मेवारी लिएका हौं’ उनले भने ‘यो सम्झौताले प्रत्येक बच्चाले गुणस्तरीय शिक्षा पाउने मात्र नभई कक्षाभन्दा बाहिर उनीहरूको प्रतिभा र क्षमता विकास हुने अवसरको पनि सुनिश्चित गर्दछ ।’

ग्रुपकी कर्पोरेट एण्ड कम्युनिकेसन्स प्रमुख ज्योति गैह्रेले २४ परिवारका ३२ जना बालबालिकालाई शैक्षिक वृत्ति प्रदान गरिने जानकारी दिइन् । ग्रुपले करिब १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । ‘शैक्षिक वृत्तिमा नसमेटिएका शहीद परिवारका लागि स्वास्थ्य बिमा गर्ने प्रक्रिया पनि सँगसँगै अघि बढिरहेको छ’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *