सर्लाही, १३ मंसिर । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन भएको बताएका छन् ।
शनिबार भक्तपुरको राधेराधेमा आयोजित आजपाको भक्तपुर निर्वाचन क्षेत्र नं. २ स्तरीय भेलालाई सम्बोधन गर्दै साहले तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री सुशील कार्की र एमाले अध्यक्ष केपी ओली दुवैले मुलुकलाई महासंकटमा पुर्याएको उनको आरोप छ । प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको मर्म र भावनालाई कुल्चिएको र एमाले नेतृत्वले त सत्ताको दुरूपयोग गरेर जेन–जी आन्दोलनमा बर्बर दमन गरेको भन्दै उनले दुवै जनाले जेनजी आन्दोलनमाथि गम्भीर धोका दिएको बताए ।
`जेनजी बिद्रोहले यो ब्यवस्थाको अन्त्य खोजेको थियो, भ्रष्टाचारीलाई कारबाही खोजेको थियो । तर यो सरकारले यो मागनै पूरा गर्न सकेन,´ आजपा अध्यक्ष साहले भने, `जेनजी बिद्रोहको बलमा सरकारमा जने तर जेनजीलाई थुन्ने, पक्राउ गर्ने उनीहरुको माग पनि पूरा नगर्ने । यो सरकार असफल भएको छ ।´
साहले जेनजी आन्दोलन भएको भदौ २३ गते सुशीला कार्की, ओमप्रकाश अर्याल, कुलमान घिसिङलगायतको भूमिका हेरिनुपर्ने र २४ भदौमा उनीहरुको सडकमा जबरजस्त उपस्थिति र चहलपहलपनि नियाल्दा जेनजी युवाहरुको बलमा भएको जनविद्रोहको अपहरण गरिएको देखिने तर्क गरे ।
गृहमन्त्री अर्यालको कार्यक्षमतामाथि प्रश्न उठाउँदै आजपा अध्यक्ष साहले यस्तो गृहमन्त्री राखेर शान्ति, सुरक्षाको वातावरण बन्न नसक्ने बताए । अहिले जाँचबुझ आयोगको टीओआर अनुसार काम नभएको र आयोगको कार्यअवधि नै सकिन लाग्दासमेत दोषी भनिएकाहरुसँग बयानसमेत लिन नसकिएको भन्दै उनले आयोगपनि निकम्मा भएको आरोप लगाए ।
उनले सुशीला सरकारलाई शान्ति, सु–व्यवस्था र अमनचयन कायम गर्ने कुरामा ध्यान दिँदै २१ फागुनको निर्वाचन सफल बनाउनमात्रै सम्पूर्ण तागत लगाउन सुझाव दिए ।
आजपा भक्तपुर क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष नरेश खड्गीको अध्यक्षतामा सम्पन्न भेलामा आजपा सहअध्यक्ष एंव संविधान सभाका सदस्य तिलक थापामगर, संगठन बिभाग प्रमुख त्रिभुवन साहलगायतको सहभागिता थियो ।
यसैगरी भेलाले नरेश खड्गीको अध्यक्षता ५१ सदस्यीय भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा दिनेश साह, कुन्ती थापामगर, मनोज यादव, सचीवमा कोशिला कुमारी , सहसचिवमा निर्मला मगर, उषा शर्मा, कोषाध्यक्षमा सुभी धिमाल लगायतका रहेको इन्चार्ज लखिन्द्र साहले बताए ।
