सर्लाही, १४ मंसिर । सर्लाहीमा एमाले महाधिवेशन प्रनिनिधि छान्ने जिम्मा पाँचजना नेताले पाएका छन् । सर्वसम्मतीबाट जिल्लाबाट २२ जना प्रतिनिधि छान्ने जिम्मा पाँचजना नेताले पाएका हुन् ।
अबको केहीबेरमै प्रतिनिधिको नाम सार्वजनिक हुने एमाले सर्लाहीका नेता जीएन मैनालीले जानकारी दिए ।
सबै आकांक्षीले निर्वाचन नगर्ने, बरु जिल्लाको ‘हाइ कमाण्ड’ले नामावली तयार पारेर घोषणा गरे त्यसलाई आफूहरूले पनि मान्ने भनेर लेखेर दिएपछि पाँचजना नेता प्रतिनिधि छनोटको गृहकार्यमा लागेका हुन् ।
एमाले सर्लाहीका इन्चार्ज एवं केन्द्रीय सदस्य हरिप्रसाद उप्रेती, केन्द्रीय सदस्यहरू कमलादेवी महतो, रन्जना सरकार र कल्पनाकुमारी कटुवाल तथा जिल्ला अध्यक्ष राजनारायण साहले प्रतिनिधि छान्ने जिम्मा पाएका हुन् ।
उनीहरूले प्रतिनिधिको रुपमा टुंग्याएका २२ जनाको नाममा कसैले बिवाद नगर्ने सहमती पनि भएको एमालेका एक नेताले बताए ।
सर्लाहीमा क्षेत्र नम्बर १ बाट ६ जना, २ बाट ५ जना, ३ बाट ६ जना र ४ नम्बरबाट ४ जना प्रतिनिधि महाधिवेशनको लागि छनोट हुनेछन् । त्यसैगरि एकजना दलित प्रतिनिधि पनि छनोट हुने बताइएको छ ।
