सर्लाही, १४ मंसिर । नारायणी नदीमा बन्ने ‘आइकोनिक ब्रिज’ को निर्माण शिलान्यास भएको डेढ वर्षपछि बल्ल सुरु भएको छ ।
डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा पुल निर्माणको अवधि लम्बिने भएको छ भने कुल लागत १ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।
यो पुल नेपालमा दुई टावर र केबल राखेर बन्ने पहिलो पुल हो, जसबाट पानीजहाज समेत सञ्चालन गर्न सकिनेछ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०८१ वैशाख अन्तिममा धुमधामले शिलान्यास गरेको नारायणगढस्थित नारायणी नदीमा बन्ने ‘आइकोनिक ब्रिज’ को काम बल्ल सुरु भएको छ ।
चार वर्षमा काम सक्ने गरेर पुल निर्माणका लागि २०८० जेठ ९ गते निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सनसँग पुलको डिजाइनसहित निर्माणको सम्झौता भएको थियो । एक वर्षभित्र डिजाइन स्वीकृत गरेर बाँकी तीन वर्षमा निर्माण सक्ने सम्झौता भए पनि गत कात्तिक १८ मा मात्रै डिजाइन स्वीकृत भएको थियो ।
सम्झौता अनुसार २०८१ जेठमा हुनुपर्ने डिजाइन स्वीकृतिको काममा ढिलाइ भएपछि पुल निर्माणको अवधि लम्बिने भएको छ । ‘हामीले फिल्डको काम सुरु गरेका छौं । डिजाइन स्वीकृति हुन समय लागेका कारण डेढ वर्ष त थप समय लाग्ने भयो,’ निर्माण कम्पनी तुँदीका प्रोजेक्ट म्यानेजर इन्जिनियर मन्जिल मिश्रले भने ।
भरतपुरस्थित डिभिजन सडक कार्यालयको निगरानीमा पुल निर्माण हुने छ । ‘पुल निर्माणको काम सुरु भएको छ । लगातार काम गरेर समयमा सक्न हामीले जोड दिने छौं,’ डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले भने ।

तुँदीका प्रोजेक्ट म्यानेजर मिश्रले सम्झौता अनुसार ९० दिनभित्र पुलको प्रारम्भिक खाका तयार गर्ने र नौ महिनाभित्र डिजाइन पूरा गर्ने काम समयमै सम्पन्न गरेको बताए । त्यसको तीन महिनाभित्र सरकारले डिजाइन स्वीकृत गर्नुपर्नेमा पहिला तयार गरेको डिजाइन स्वीकृत नभएपछि अर्को डिजाइन बनाउनु परेको मिश्रले बताए ।

