सर्लाही, १५ मंसिर । सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले चालु क्रसिङ सिजन २०८२/८३ मा ३५ लाख क्विन्टल उखु प्रशोधन गर्ने लक्ष्यसहित आज डोंगा पूजा सम्पन्न गरेको छ ।
उद्योगका उखु प्रबन्धक योगनारायण रजकका अनुसार पुसको पहिलो सातादेखि मिल सञ्चालन गर्ने तयारीसहित आइतबार डोंगा पूजा गरिएको हो ।
गएको वर्ष उद्योगले ३० लाख ४० हजार क्विन्टल उखु क्रसिङ गरेको थियो । यस वर्ष सोभन्दा करिब साढे चार लाख क्विन्टल बढी उखु प्रशोधन गर्ने लक्ष्य लिइएको प्रशासकीय प्रमुख ठाकुरप्रसाद नेपालले बताए ।
डोंगा पूजा उद्योगका प्रमुख उद्योगपति राजेश केडिया, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादव, नेपाल उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु राय, उखु किसान, उद्योगका कर्मचारी तथा मजदुरलगायतको उपस्थितिमा सम्पन्न गरिएको उद्योगले जानकारी दिएको छ ।
