सर्लाही, १५ मंसिर । भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ जारी छ । आइतबार’हेर्दाहेर्दै’मा राखिएको उक्त रिट न्यायाधीश शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ भइरहेको छ ।
सर्वोच्च अदालतले उक्त रिटमा अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने आदेश सुनाउन आइतबार मिति तोकेको थियो । तर सो दिन निर्णय आउन सकेन ।
यसअघि उक्त रिटमा सर्वोच्चले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो । साथै अन्तरिम आदेश जारी गर्ने कि नगर्नेबारे दुवै पक्षलाई छलफलमा बोलाएर सुनुवाइ गर्ने भनेको थियो ।
बहस सकिए करिब १ महिनापछि आज यस विषयको टुंगो लाग्ने छ गत असोज २३ गते बसेको मन्त्रिपरिषद बैठकले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको थियो ।
बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेपछि त्यसका विरुद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजालले गत कार्तिक ९ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
