सर्लाही, १५ मंसिर । मधेश प्रदेशका वन तथा वातावरण मन्त्री कञ्चन विच्छालाई प्रदेशसभा सदस्य पदबाट हटाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेश प्रदेशसभामा आधिकारिक पत्राचार गरेको छ ।

राप्रपाबाट समानुपातिकतर्फ निर्वाचित एक मात्र प्रदेशसभा सदस्य रहेकी विच्छा गत २४ कात्तिकमा संविधानको धारा १६८(३) अनुसार गठन भएको मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा विना विभागीय मन्त्री बनेकी थिइन् । तर पार्टीले दिएको निर्देशन विपरीत उनी मंसिर ८ गते वन तथा वातावरण मन्त्री बनेपछि आन्तरिक विवाद चर्किएको हो ।

पार्टीले विच्छालाई सरकारबाट बाहिरिन निर्देशन दिएको थियो । तर उनले मन्त्री पद नछोडेपछि राप्रपाले उनीविरुद्ध स्पष्टीकरणसमेत मागेको थियो ।

पार्टीको नीति तथा निर्णयको उल्लङ्घन गरेको ठहर गर्दै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ अनुसार आवश्यक कारबाहीका लागि प्रदेशसभा सदस्य पदबाटै हटाइदिन माग गरिँदै प्रदेशसभामा पत्र पठाइएको राप्रपाका मुख्य सचिव केदारबहादुर अधिकारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

मधेश प्रदेशसभा सचिवालयका सचिव बासुप्रसाद कोइरालाका अनुसार राप्रपाको पत्र आइतबार सचिवालयमा प्राप्त भएपछि उपसभामुख बबिता राउत इशरलाई बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *