सर्लाही, १८ मंसिर । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो नेपाल पार्टी र अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीले एउटै चुनाव चिह्नमा चुनावी प्रतिस्पर्धा गर्ने सहमतिबाट पछि हटेका छन् ।
हाम्रो नेपाली पार्टीका उम्मेदवार उज्यालो नेपाल पार्टीको चुनाव चिह्न चिमबाट चुनावी प्रतिस्पर्धा गर्ने सहमति १० मंसिरमा बनेको थियो । उक्त निर्णयबाट दुई दल पछि हटेका हुन् ।
उज्यालो नेपालका एक नेताका अनुसार पछि कानुनी समस्या उत्पन्न हुनसक्ने कारणले चुनाव चिह्न आ-आफ्नोमा प्रतिस्पर्धा गर्ने निर्णय गरिएको बताए । ‘उम्मेदवारलाई चयन गर्दा दुई अध्यक्षले हस्ताक्षर गर्दा समस्या आउने देखियो ।
समानुपातिकतर्फको उम्मेदवारमा पनि विवाद हुनसक्ने अवस्था आउनसक्छ । हाम्रो नेपाल पार्टीसँग चुनाव चिह्न एउटैमा प्रतिस्पर्धा गर्ने निर्णय नगर्ने निर्णयमा पुगेका छौं,’ उज्यालो नेपालका नेताले भने ।
