सर्लाही, १८ मंसिर । जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरेको आरोपमा रौतहटमा दुई जना पक्राउ परेका छन् । गत भदौ २३–२४ गते भएको जेनजी पुस्ताको आन्दोलन हिंसात्मक रूप लिँदै इलाका प्रहरी कार्यालय चन्द्रपुर तथा त्यहाँ रहेका सवारीसाधनमा व्यापक तोडफोड र आगजनी गर्ने दुईजना लाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी विष्णुप्रदीप बस्यालका अनुसार घटनामा संलग्नमध्ये चन्द्रपुर नगरपालिका–४ का ३२ वर्षीय दीपक बस्नेत र वडा ८ का ४३ वर्षीय हरिनारायण चौधरी लाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले पक्राउ गरेको छ ।

उनीहरू विरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखी विस्तृत अनुसन्धान जारी रहेको प्रवक्ता बस्यालले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार आन्दोलनको नाममा सार्वजनिक तथा सरकारी सम्पत्तिमा गरेको क्षतिका सम्बन्धमा थप संलग्न व्यक्ति र पृष्ठभूमि पनि अनुसन्धानमै रहेको छ ।

गत भदौ २४ गते जेनजी आन्दोलनको नाउँमा भएको आन्दोलनको क्रममा जिल्ला सदरमुकाम गौर, गरुडा, चन्द्रपुर, कटहरिया, फतुवा विजयपुर लगायतका स्थानमा सरकारी कार्यालय तथा निजी भवनहरूमा तोडफोड आगजनी गरेर करोडौँको क्षति गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *