सर्लाही, २२ मंसिर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा भिजन भएका व्यक्तिलाई चुन्न आह्वान गरेका छन् ।
पार्टी संगठन विस्तारका क्रममा सोमबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले अहिलेसम्म चुनिएका नेतामा कुनै भिजन नभएको ठोकुवा गरे ।
‘अहिलेसम्म यो देशमा नेता हुन लायक कोही मान्छे मैले देखिनँ । किनभने उनीहरुसँग भिजन छैन । ऊ आफैँलाई पनि थाहा थिएन कहाँ जाने भन्ने, देशलाई कहाँ पुर्याउँछ ? कहिँ पनि पुर्याउँदैन,’ उनले भने ।
अर्थतन्त्रलाई कसरी उठाउने भन्ने भिजान नभएकालाई अहिलेसम्म नेता चुनिएको उल्लेख गर्दै धरानका मेयरसमेत रहेका साम्पाङले भने, ‘हामीले कस्ता नेताहरुलाई चुनिरह्यौँ भने विदेशी प्रभुलाई ढोग्ने, अलिकति अनुदान लिने, ऋण अलि धेरै लिने, लिएको ऋणले पनि बाटो नबनाउने, घर बनाउने बरु । पुल नबनाउने, आफ्नो सम्पत्ति जोड्ने ।’
