सर्लाही, २३ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले रौतहटका विभिन्न शक्तिपिठमा पूजाअर्चना गर्नुभएको छ ।

आइतबार मधेश भवन जनकपुरमा मुख्यमन्त्रीको सपथ लिएसँगै गृह जिल्ला रौतहट आउनुभएका यादवले सोमबार रौतहटको राजदेवी नगरपालिकास्थित राजदेवी मन्दिरको दर्शन गरी पूजाअर्चना गर्नुभएको हो ।

मधेश प्रदेशको समुन्नती, भ्रष्टाचारमुक्त समाज निर्माण तथा मानव कल्याणको कामना गर्दै राजदेवी  मातासँग प्रार्थना गरेको उहाँले बताउनुभयो ।

करिब १० मिनेट मन्दिरको गर्भगृहमा दर्शनसँगै मुख्यमन्त्री यादवलाई मन्दिरका पुजारी मनोजकुमार मिश्रले पूजाअर्चना गराउनुभएको थियो ।

मुख्यमन्त्री यादवले सोमबार नै रौतहटको दुर्गाभगवती–३ मत्सरीस्थित दुर्गा मन्दिरमा समेत पूजाअर्चना गर्नुभएको नेपाली कांग्रेस मधेश प्रदेश सूचना सञ्चार प्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिनुभयो ।

आइतबार साँझ रौतहट आउनुभएका मुख्यमन्त्री यादवले रौतहटको गरुडा, गढिमाइ, दुर्गाभगवति, राजदेवि, गौर, कटहरियाका आम जनसमुदायसँग स्थानीय स्तरका समस्या, गुनासो तथा सम्भावित समाधानका विषयमा जनतासँग बिचार बिमर्श गर्नुभएकोे प्रमुख  गुप्ताले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *