सर्लाही, २५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग अर्थपूर्ण छलफल भएको बताएका छन् ।
११औँ महाधिवेशनअघि बिहीबार सम्पादकहरूसँगको छलफलमा ओलीले प्रमुख पार्टीका नेतासँग भएको छलफलको प्रभाव पछि देखिने बताएका हुन् ।
‘झुट बोल्ने मेरो बानी छैन । अर्थपूर्ण छलफल भयो । त्यसको अर्थ छ । त्यो भोलि देखिन्छ । तोरी तत्काल उम्रिन्छ । बकुल्ला पछि उम्रिन्छ । अति भयो भनेपछि बल्ल उम्रिन्छ,’ ओलीले भने, ‘त्यो रसाउन र पलाउन समय लाग्छ । यसको प्रभाव देखिन्छ ।’
देशले पत्याएर पटकपटक प्रधानमन्त्री भएको र ठूलो दलको नेतालाई भेट्नु अस्वाभाविक नभएको उनको भनाइ छ ।
‘देउवाजी प्रमुख पार्टीको नेता हो । उसै त्यत्रोपटक प्रधानमन्त्री बन्नुभएको होइन । अरुले रिस गर्नु छुट्टै हो । देशले पत्याएर प्रधानमन्त्री हुनुभएको हो । झुक्याएर भएको होइन ।
संसदमा जनताले छानेका प्रतिनिधिले जिताएका हुन्,’ ओलीले भने, ‘१४३ पार्टीमा कांग्रेस र एमालेबाहेक १४१ वटा छन् । त्यस्तै लागे मिलेर एमाले र कांग्रेससँग लडे हुन्छ । लड्ने, जित्ने, सरकार बनाउने गरे हुन्छ । नाइँ नास्ती हुँदैन ।’
२३ र २४ भदौको आन्दोलनपछि केही दिनअघि देउवा र ओलीबीच पहिलोपटक भेट भएको थियो ।
दुई पुराना र अनुभवी पार्टीका नेताले छलफल र चिन्ता गर्नु स्वाभाविक भएको उनले बताए ।
