सर्लाही, २५ मंसिर ।   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धीत मुद्दाको सुनुवाई आज पनि नहुने भएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा आजका लागि तोकिएको पेशी हेर्न नमिल्नेमा परेको हो । 

आज सुनुवाईका लागि न्यायाधीशहरु तेजनारायण पौडेल र सागर विष्टको चार नम्बर इजलाशमा परेको थियो । तर जाहेरीवाल तर्फका कानुन व्यवसायी सालिकराम पौडेल न्यायाधीश सागर विष्टको आफन्त परे । त्यसपछि न्यायाधीश विष्टले हेर्न नमिल्ने बताएको थिए । 

लामिछानेसँगै पेशी तोकिएका पूर्व डिआइजी छबिलाल जोशीको मुद्दा पनि हेर्न नमिल्ने भएको छ । अदालतले दुबै जनाको एउटै मुद्दा भएका कारण सँगै सुनुवाई गर्न आदेश गरेको थियो ।  

अघिल्लो बिहिबार सार्वजनिक विदा परेका कारण पेशी तोकिएको थिएन । त्यसअघि पनि विविध कारणले सुनुवाई  स्थगित हुँदै आएको छ । 

दुबैजनाले बिगो बमोजिमको रकम बुझाइ थुना बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन् । बुटवलको सुप्रिम सहकारीको रकम अनियमितता प्रकरणमा रविसहितका प्रतिवादीलाई रु १० करोड ९९ लाख ३६ हजार सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ ।

सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बिगो बराबरको रु दुई करोड ७४ लाख ८४ हजारको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *