सर्लाही, २५ मंसिर । सरकार र जेनजी प्रतिनिधिबीच बुधबार (मंसिर २४) साँझ भएको सहमतिप्रति जेनजी अभियन्ताहरू मिराज ढुंगाना र जितेन्द्रकुमार महतोले विरोध जनाएका छन् । 

उनीहरूले बुधबारै बेलुका संयुक्त विज्ञप्ति जारी गरी सरकार र केही जेनजी समूहबीच भएको सम्झौता जेनजी जनआन्दोलनले उठाएका वास्तविक मर्म र भावनाको प्रतिनिधित्व नगर्ने भन्दै असन्तुष्टि जनाएका हुन् । 

‘मिति २०८२ साल मङ्सिर २४ गते नेपाल सरकार र केही जेनजी समूहद्वारा गरिएको सम्झौतापत्रमा जेनजी जनआन्दोलनले उठाएका वास्तविक मर्म, भावना र निर्णायक निष्कर्षहरू समुचित रूपमा प्रतिनिधित्व भएको देखिँदैन ।

उक्त सम्झौतापत्रमा आन्दोलनका केही मागहरू सम्बोधन भए तापनि प्रमुख मागहरू स्पष्ट, ठोस र कार्यान्वयनयोग्य रूपमा समेटिएका छैनन् र चुनावअघि तिनलाई लागु गरिने कुनै सुनिश्चितता नदिइएकाले यो सम्झौता हाम्रोतर्फबाट स्वीकार्य छैन’, विज्ञप्तिमा उनीहरूले भनेका छन् । 

देशको स्थायित्व, सुशासन र परिवर्तनको मूलभुत आवाजलाई बेवास्ता गर्दै, व्यापक सर्वपक्षीय जनआवाजलाई बेवास्ता गरिएको आरोप लगाउँदै उनीहरूले ‘केही स्वार्थ समूहसँग गरिएको राजनीतिक सम्झौता’ स्वीकार नभएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा अगाडि भनेका छन्, ‘त्यसैले सबैको आवाज सुनेर, समग्र जेनजी जनआन्दोलनका मूल मुद्दा समेटेर, देशको स्थिरता र न्यायसंगत मूल्यांकन सुनिश्चित हुनेगरी मात्र कुनै पनि सम्झौता अघि बढाउनुपर्छ ।

अन्यथा सर्वपक्षीय सहमतिबिना निर्णय लिँदा पुनः वातावरण अस्थिर अविश्वसनीय बन्न सक्ने र भविष्यमा कोही पक्षलाई कुनै नैतिक दबाब वा यस सम्झौतालाई संवैधानिक आधार दिने कुनै पनि वातावरण देख्न नसकिने स्पष्ट रहेको हुँदा यो सम्झौता आन्दोलन तुहाउने षड्यन्त्र र भ्रमपूर्ण रहेकोमा हामी विश्वस्त छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *