सर्लाही, २५ मंसिर ।  सर्लाही जिल्लाभरमा सबैभन्दा पुरानो र ऐतिहासिक प्रहरी चौकी मधुवनगोठको पक्की भवन निर्माण हुने भएको छ ।

२० वर्षअघि सशस्त्र द्वन्द्वको क्रममा तत्कालिन बिद्रोही पक्ष माओवादीको आक्रमणबाट प्रहरी चौकीको कार्यालय पूरै ध्वस्त भएको थियो ।

त्यसपछि गाउँलेहरुले साबिक मधुवनगोठ गाउँ विकास समिति (गाविस) भवनमा प्रहरी चौकी राखेका थिए ।
हालको विष्णु गाउँपालिका–३, स्थित मधुवनगोठ वडा कार्यालयको जिर्ण कोठाबाट संचालनमा रहेको प्रहरी चौकीको अब भने आफ्नै पक्की भवन निर्माण हुने भएको हो ।

प्रहरी चौकी भवनको सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले शिलान्यास गरेका छन् ।
एक वर्षभित्र प्रहरी चौकी भवन निर्माण गरी सक्ने गरी इमानत जे एन सेवा जेभी काठमाडौंले भ्याटबाहेक एक करोड ८३ लाख ६१ हजार ३९१ रुपियाँ ८१ पैसामा ठेक्का सकार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

स्थानीयका अनुसार तत्कालिन प्रधानमन्त्री भीमसेन थापाको पालामा अङ्ग्रेज सेनाले आक्रमण गर्ने समयमा प्रहरी चौकी मधुवनगोठ स्थापना भएको थियो ।

फुस, खपडाको छानो हुँदै २००२ सालमा स्थानीयले जनश्रमदान गरेर प्रहरी चौकीको कार्यालय भवन निर्माण गरी दिएका थिए । सशस्त्र द्वन्द्वको समयमा भने प्रहरी चौकी ध्वस्त भएपछि साबिक मधुवनगोठ गाविसको दुईकोठे भवनमा एउटा कोठा प्रहरीलाई दिएर बाँकी रहेको एउटा कोठाबाट गाविस भवन सञ्चालन गरियो ।

अहिले पनि उक्त जिर्ण भवनबाटै प्रहरी चौकी र वडा कार्यालय सञ्चालन भइरहेका मधुवनगोठका स्थानीय अकलेस बैठाले जानकारी दिए । उनका अनुसार प्रहरी चौकीको नाममा यसअघि देखि नै रहेको भवनमा गृह मन्त्रालयले बजेट दिएपछि नयाँ पक्की भवन निर्माण हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *