सर्लाही, २७ मैसिर । धनुषा र सिरहा जोड्ने कमला नदीमाथि निर्माणाधीन पुल गलत डिजाइनका कारण भासिएको तथ्य खुलेसँगै सडक विभागका उच्च तहका अधिकारीहरूविरुद्ध छानबिन प्रक्रिया अघि बढाउने तयारी भएको छ ।
महालेखा परीक्षकको प्रतिवेदन २०७९ ले पुलको डिजाइनमै गम्भीर प्राविधिक त्रुटि रहेको ठहर गर्दै प्रारम्भिक चरणमै कमजोरीका कारण संरचना असफल भएको निष्कर्ष निकालेको छ ।
प्रतिवेदन अनुसार पुलको पाइल (पाया) को लम्बाइ आवश्यक मापदण्डभन्दा अत्यन्त कम राखिएको, माटो परीक्षणका लागि अनिवार्य मानिने बोरहोलको संख्या र गहिराइ पर्याप्त नखन्ने गरिएको तथा निर्माण अघि गरिनुपर्ने ‘पाइल लोड टेस्ट’ नै नगरिएको देखिएको छ । यस्ता गम्भीर प्राविधिक त्रुटिकै कारण पुल भासिएको प्रतिवेदनले स्पष्ट पारेको हो ।
महालेखा परीक्षकको प्रतिवेदनमा उक्त पुलको प्रारम्भिक डिजाइन तत्कालीन पुल महाशाखाका सीडीई तथा हाल सडक विभागका महानिर्देशक डा. बिजय जैशीले तयार पारेको उल्लेख छ । साथै, विभागका उपमहानिर्देशक प्रभातकुमार झा समेत सो प्रक्रियामा संलग्न रहेकाले दुवै अधिकारीसहित संरचनात्मक, प्राविधिक तथा प्रशासनिक जिम्मेवारीमा रहेका अन्य पदाधिकारीहरू पनि छानबिनको दायरामा पर्ने संकेत प्रतिवेदनले दिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले प्रतिवेदनका निष्कर्षअनुसार थप अनुसन्धान अघि बढाउने र आवश्यक अनुशासनात्मक कारबाही प्रक्रिया सुरु गर्ने तयारी थालेको मन्त्रालय स्रोतले जनाएको छ ।
कमला पुल १४ वर्षसम्म पनि बन्न नसकेको भन्दै तीव्र आलोचना भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ स्वयं पुल स्थलमा पुगेर निरीक्षण गरेका थिए ।
निरीक्षणपछि उनले छिट्टै निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका थिए । पुल भासिनुका वास्तविक कारणबारे प्रतिवेदन अध्ययनपछि मन्त्री घिसिङले छानबिन प्रक्रिया अघि बढाउन लागेका स्रोतको भनाइ छ ।
उक्त पुलको डिजाइन स्वीकृत प्रक्रियामा तत्कालीन सडक विभागका महानिर्देशक दिनकर शर्मा संलग्न थिए । यस्तै, बोलपत्र स्वीकृति प्रक्रियामा महानिर्देशकहरू माधवकुमार कार्की, रामकुमार लम्साल र हरिओम श्रीवास्तव संलग्न रहेको उल्लेख छ ।
पुल निर्माणको ठेक्का तत्कालीन सांसद हरिनारायण रौनियारको पप्पु कन्स्ट्रक्सन तथा विष्णुप्रसाद शर्मा सञ्चालक रहेको लुम्बिनी बिल्डर्स प्रालिले पाएका थिए ।
कमला पुल निर्माणका लागि २०६८ जेठमा करिब २५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार पुल २०७१ मंसिरमै सम्पन्न हुनुपर्ने भए पनि आठ पटक म्याद थपिँदा समेत गएको २०८२ असारमा म्याद समाप्त भइसकेको छ । तर पुलको अवस्था हालसम्म जस्ताको तस्तै छ ।
पुल निर्माण अलपत्र रहँदा सिरहा र धनुषाका बासिन्दा एक जिल्लाबाट अर्को जिल्लामा जान करिब ५० किलोमिटर घुम्न बाध्य छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री घिसिङले सडक विभाग अन्तर्गत वर्षौंदेखि अलपत्र पारिएका ठेक्का तोड्ने र काम नगर्ने कम्पनीलाई कालोसूचीमा राख्ने अभियान सञ्चालन गरिरहेका छन् ।
यद्यपि, त्रुटिपूर्ण डिजाइनकै कारण कमला पुल भासिएको तथ्य सार्वजनिक भएपछि त्यससम्बन्धी छानबिन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ ।
मन्त्री घिसिङले नवौं पटक ठेक्का म्याद थप नहुने प्रतिबद्धता जनाए पनि महानिर्देशक जैशीले कूटनीतिक शैलीमा ठेक्का म्याद थप्ने प्रक्रिया अघि बढाइसकेको विषयले थप विवाद सिर्जना गरेको छ ।
