इरानको सुरक्षा बलले नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई पक्राउ गरेको छ ।
एक वकिलको निधनपछि आयोजित स्मृति समारोह भइरहेको ठाउँबाट उहाँ हिजो पक्राउ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नरगिस फाउन्डेसनले उहाँलाई अमानविय तरिकाले पक्राउ गरिएको जनाएको छ ।
फाउन्डेसनका अनुसार ५३ वर्षीया नरगिसलाई इरानको पूर्वी शहर मशहदमा अन्य कार्यकर्ताहरूका साथ सुरक्षाकर्मीले पक्राउ गरेका हुन् । नोबेल कमिटीले यो घटनाबारे अत्यन्तै चिन्तित रहेको उल्लेख गरेको छ ।
कमिटीले सुरक्षा अधिकारीसँग उहाँलाई जहाँ राखिएको भए पनि जानकारी दिन अपील गरेको छ । इरान सरकारको तर्फबाट भने नरगिस मोहम्मदीको पक्राउबारे कुनै धारणा सार्वजनिक नभएको बीबीसीले जनाएको छ ।
इरानमा महिलामाथि हुँदै आएको दमनविरुद्धको संघर्ष र मानवअधिकारको पक्षमा वकालत गरेको भन्दै उहाँलाई सन् २०२३ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उहाँ सन् २०२१ देखि तेहरानको एविन जेलमा हुनुहुन्थ्यो ।
साथै सन् २०२४ डिसेम्बरमा जेलबाट अस्थायीरूपमा रिहा हुनुभएको थियो । स्मृति समारोहबाट अन्य धेरै अधिकारकर्मीसहित उहाँलाई हिरासतमा लिइएको हो ।
