सर्लाही, २७ मैसिर । पटेल–रमण जेभीसँगको ठेक्का तोडिएपछि सिँचाइ विभागले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा बाँध, विद्युत्गृहलगायतका सिभिल संरचना निर्माण गर्न नयाँ ठेक्का आह्वान गर्ने तयारी गरेको छ ।

राष्ट्रिय गौरवको उक्त आयोजनाको बाँध, विद्युत्गृहलगायतका सिभिल संरचना र गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडान गर्न पटेल–रमण जेभीसँग १४ अर्ब आठ करोड (करसहित) मा १७ पुस ०७९ मा ठेक्का सम्झौता भएको थियो ।

ठेक्काको म्याद ५५ महिना अर्थात् १८ असार ०८४ सम्म थियो । तर, सम्झौता गरेको ६१ प्रतिशत समय सकिँदा १० प्रतिशत मात्रै काम भएपछि २५ कात्तिकमा ठेक्का सम्झौता तोडिएको छ ।

सरकारले पछिल्लोपटक धमाधम रुग्ण ठेक्का तोडिरहेको छ । त्यसमा यो सबैभन्दा ठुलो रकमको ठेक्का हो । 

हाल परियोजनामा पटेल–रमणले गरेको काम र बाँकी कामको विस्तृत मूल्यांकन गर्ने काम भइरहेको छ । त्यो टुंग्याएर नयाँ टेन्डर आह्वान गर्ने विभागको तयारी गरिएको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले बताए ।

अबको दुई महिनामा नयाँ टेन्डर आह्वान गर्न सकिने उनको भनाइ छ । ‘अहिले पुरानो निर्माण कम्पनीबाट के–कति काम भयो र के–के काम गर्न बाँकी छ भनेर मूल्यांकन गर्ने काम भइरहेको छ ।

त्यसको स्पष्ट खाका आएपछि नयाँ टेन्डर आह्वान हुन्छ,’ उनले भने, ‘अबको डेढ–दुई महिनामा नयाँ टेन्डर आह्वान हुन्छ ।’

यता निर्माण कम्पनीले भने ठेक्का तोड्ने निर्णयविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर गरिसकेको छ । त्यसमा सर्वाेच्चले धरौटी जफतको प्रक्रिया भने यथास्थितिमा राख्नु भनेर अल्पकालीन आदेश दिए पनि अन्य आदेश जारी गरेको छैन । त्योअनुसार विभागलाई हालसम्मको अवस्थामा नयाँ टेन्डर आह्वान गर्न बाटो खुला नै छ । यद्यपि, कम्पनीले दर्ता गरेको मुद्दा विचाराधीन अवस्थामा छ । आगामी साता दुवै पक्षबिच अदालतमा छलफल हुँदै छ । त्यसपछि अदालतले कस्तो आदेश गर्छ, त्यसमा पनि यो निर्भर रहने बताइएको छ । 

विभागले ठेक्का सम्झौता रद्दसँगै पटेल–रमण जेभीले कार्यसम्पादन जमानतबापत राखेको दुई अर्ब ४० करोड र अग्रिम भुक्तानीको एक अर्ब २० करोड गरी कुल तीन अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेन्टी जफत गर्ने प्रक्रियासमेत अगाडि बढाएको थियो । त्यसमा अदालतले थप कुनै कारबाही अघि नबढाउनु भनेर अल्पकालीन आदेश जारी गरेको छ । 

अब बाँकी काम गर्न नयाँ लागत अनुमान पनि गर्नुपर्नेछ । यस यसअघि यो प्याकेजको निर्माणमा १८ अर्ब लागत अनुमान थियो । त्यसमा पटेल–रमण जेभीले लो बिड गरेर १४ अर्ब आठ करोडमा ठेक्का सम्झौता गरेको थियो । 

सिन्धुली र रामेछापको सिमानामा रहेको सुनकोशी नदीको पानीलाई बाँध बनाएर सुरुङमार्फत मरिन नदीमा खसाली बागमती सिँचाइ आयोजनामा पुर्‍याइनेछ ।

यसबाट तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *