सर्लाही, २८ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सर्लाहीले फागुन २१ को निर्वाचनका लागि क्षेत्र नं. १ बाट निवर्तमान सांसद रामप्रकाश चौधरीको एकल नाम सिफारिस गरेको छ ।
लोसपा सर्लाहीको हिजो शनबिार सदरमुकाम मलंगवामा सम्पन्न जिल्ला कार्य समितिको बैठकले सर्लाहीको क्षेत्र नं. १ बाट निवर्तमान सांसद चौधरी एक्लैको नाम सिफारिस गरेको हो ।
प्रहरी निरीक्षक (इन्स्पेक्टर) को जागिर छाड्ने बित्तिकै राजनीतिमा लागेका चौधरी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस र तत्कालिन एकीकृत समाजवादी पार्टीको समर्थनमा त्यसबेलाका निवर्तमान सांसद प्रमोद साह र लालबन्दी नगरपालिकाका पूर्व मेयर मानबहादुर खड्कालाई भारी मतले पराजित गर्दै सर्लाहीको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
आगामी निर्वाचनमा पनि लोसपाले सर्लाहीको क्षेत्र नं. १ बाट पुनः चौधरीलाई टिकट प्रदान गर्ने पक्कापक्की जस्तै छ । यस्तै लोसपा सर्लाहीले क्षेत्र नं. २ बाट भने भिनुकलाल राय (सुजन), रन्जितकुमार ठाकुर र विरवंश बैठा गरी ३ जनाको नाम सिफारिस गरेको छ ।
त्यसैगरी क्षेत्र नं. ३ बाट रामेश्वर राय र क्षेत्र नं. ४ बाट मनिषकुमार मिश्रको एकल नाम सिफारिस भएको छ । पार्टीका जिल्ला सचिव मिथिलेश यादवले प्रेस विज्ञप्ती जारी गरी प्रतिनिधिसभाको समानुपातिकतर्फ जिल्लाबाट पार्टी केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, अन्जुदेवी बैठा, मिनादेवी महतो कोइरी, सरितादेवी साह, सुनिताकुमारी देवी, कामरेन्द्रकुमार बर्मा र रेखाकुमारी साहको नाम सिफारिस गरिएको जानकारी गराएका छन् ।
