सर्लाही, २८ मंसिर । हुलाकी राजमार्ग अन्तर्गत विभिन्न सडकखण्ड बनेर यातायात सञ्चालन भइरहेका छन्, तर १८ वटा पुलको ठेक्का प्रक्रिया बजेट अभावका कारण अलपत्र परेको छ । यसको असर सडक सञ्चालन र स्थानीय आर्थिक गतिविधिमा परेको छ ।
हुलाकी सडक योजना कार्यालय, जनकपुरधामका प्रमुख कृष्णकुमार महतोका अनुसार करिब ३ करोड रुपैयाँ लागत अनुमानसहित १८ पुलको विवरण बारम्बार अर्थ मन्त्रालयमा पठाइए पनि बजेट स्वीकृति नहुँदा ठेक्का प्रक्रिया सुरु हुन सकेको छैन । “हामीले तीन वर्षदेखि सबै कागजात र प्राविधिक विवरण तयार गरी पठाएका छौँ, तर आवश्यक बजेट नआउँदा आयोजना अलपत्र अवस्थामा छ,” महतोले बताए ।
ठेक्का लाग्न बाँकी रहेका पुलमा कमला–बलान सडकखण्डको मैनावती पुल, जोगियारा नदी, बाछाराजा नदी र गरदनिया चोकका पुल, यदुकुहा–खजुरी–महुवा सडकका सरावे आमा हण्डा पुल, पर्सा बिग्घी खोला, रातसखोला, जंघा खोला, मरहा खोला, गेरूका नदी, जंघा खोला र बिघी खोला पुल, लखनदेही र गदहिया पुल, हरकठुवा र धनकौल पुल तथा एकादशी पुल पर्दछन् ।
हालसम्म हुलाकी राजमार्गका २२ पुल निर्माण भई सञ्चालनमा छन् भने २१ पुल निर्माणकै चरणमा छन् । पुल निर्माणमा ढिलाइ हुँदा वर्षायाममा खोलानालाबाट आवतजावत कठिन भई गाउँहरू टापुजस्तो बन्ने समस्या देखिएको छ । स्थानीय रामपुकार महतोले भने, “सडक बने पनि पुल नहुँदा त्यसको कुनै अर्थ छैन । हामी वर्षौंदेखि पुलको आशा गर्दै आएका छौँ ।”
हुलाकी सडक आयोजना अन्तर्गत कुल ४०३।६८ किलोमिटर सडकको जिम्मेवारी छ । यसमा २९९।८० किलोमिटर नेपाल सरकारको बजेट र १०३.८८ किलोमिटर भारतीय अनुदानबाट बनेको छ । हालसम्म ३४२।६८ किलोमिटर सडक कालोपत्र भइसकेको छ ।
चालु आर्थिक वर्षमा बाँकी सडक र पुल पूरा गर्न करिब डेढ अर्ब रुपैयाँ बजेट आवश्यक छ, तर सरकारले ५९ करोड ९० लाख मात्र विनियोजन गरेकोले काममा गति लिन सकेको छैन । महतोका अनुसार, “बजेट सुनिश्चित भएमा बाँकी पुल र सडक छिट्टै सम्पन्न गर्न सकिन्छ ।”
हुलाकी राजमार्ग तराई–मधेस क्षेत्रको आर्थिक मेरुदण्ड मानिन्छ । पुल र सडक निर्माण नहुनु आर्थिक विकास, कृषि उत्पादन बजार पहुँच र क्षेत्रीय व्यापारमा प्रतिकूल प्रभाव पारिरहेको छ ।
